रास्वपाको कार्यक्रममा पुगेपछि आलोचित नापीका कम्प्युटर अपरेटरले जागिर छाडे

भिजन समाचार
2
Shares

ओखलढुंगा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यक्रममा सहभागी भएपछि सामाजिक सञ्जालमा चर्को आलोचना खेपेका नापी कार्यालय ओखलढुंगाका कम्प्युटर अपरेटर धीरेन्द्र खड्काले पदबाट राजीनामा दिएका छन्। उनले असोज २७ गते कार्यालय प्रमुखसमक्ष राजीनामा पत्र पेस गर्दै असोज २८ गतेदेखि लागू हुने गरी पद त्यागेको जानकारी गराएका हुन्।

राजपत्र अनंकित प्रथम श्रेणीका कर्मचारी खड्काले सार्वजनिक कार्यक्रममा सहभागी भई स्थानीयका समस्या तथा नापीसम्बन्धी प्राविधिक जटिलताबारे धारणा राखेपछि विवादमा तानिएका थिए। उक्त कार्यक्रममा उनको सहभागितालाई लिएर सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो।

राजीनामा पत्रमा खड्काले आफूले लामो समयदेखि सेवाग्राही, सर्वसाधारण तथा स्थानीयवासीका भूमिसम्बन्धी समस्या समाधानका लागि इमानदारीपूर्वक काम गर्दै आएको उल्लेख गरेका छन्। तर, सार्वजनिक कार्यक्रममा स्थानीयका समस्या र जनगुनासाबारे आफ्नो धारणा राखेकै कारण व्यक्तिगत मर्यादा र नैतिक चरित्रमाथि प्रश्न उठाउने तथा विवादमा तान्ने प्रयास भएको उनको दाबी छ।

उनले सरकारी सेवाको मर्यादा र निष्पक्षता कायम राख्नुपर्ने जिम्मेवारीलाई ध्यानमा राख्दै स्वेच्छाले राजीनामा दिएको उल्लेख गरेका छन्। साथै, कुनै किसिमको दबाब वा प्रलोभनमा नपरी निर्णय लिएको उनको भनाइ छ।

खड्काले अब सरकारी सेवाको सीमित दायराभन्दा बाहिर रहेर ओखलढुंगावासीको हक, अधिकार, विकास र समृद्धिका लागि पूर्णकालीन रूपमा सामाजिक तथा राजनीतिक अभियानमा सक्रिय हुने प्रतिबद्धता व्यक्त गरेका छन्।

सरकारी कर्मचारीको सार्वजनिक कार्यक्रममा सहभागिता र राजनीतिक गतिविधिसँगको सम्बन्धलाई लिएर प्रश्न उठिरहेका बेला खड्काको राजीनामाले जिल्लामा नयाँ बहस सिर्जना गरेको छ।

राश्वपाको कार्यममा उपस्थित भएकै कारण जागिरबाट नापी कार्यालयका कम्प्युटर अपरेटर खड्काले राजीनामा दिएपनि नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका सुनकोशी गाउँपालिकाका कर्मचारी अशोक किरण लुइँटेल सगौरव पार्टीकाम गरिरहेका छन् । उनको पनि सामाजिक सञ्जालमा जिल्लाबासीले चर्को आलोचना गरिरहेका छन् ।