कांग्रेस सहमहामन्त्री रामहरि खतिवडाले दिए कैदीलाई खसी

भिजन समाचार
0
Shares

नेपाली कांग्रेसका सहमहामन्त्री रामहरि खतिवडाले ओखलढुंगा कारागारका कैदीबन्दीहरूका लागि खसी उपलब्ध गराएका छन् । खतिवडाले विगतका वर्षहरुझैँ यस वर्ष पनि बडादशैंको अवसरमा कारागारमा रहेका कैदीबन्दीका लागि खसी सहयोग गरेका हुन् ।

विभिन्न अपराधमा संलग्न भएर कारागारमा कैदभुक्तान गरिरहेका कैदीबन्दीलाई खतिवडाले आफु जिल्लाबाट सांसद निर्वाचित भएयता हरेक दशैंमा मासुका लागि जिउँदो खसी दिँदै आएका छन् । 

अघिल्ला वर्षहरुमा खतिवडाले आफैं कारागार पुग्ने र कारागार व्यवस्थापनका समस्या सुन्दै खसी हस्तान्तरण गर्ने गरेका थिए । यसवर्ष भने पार्टीमा भर्खरै प्राप्त भएको नयाँ जिम्मेवारी र आजै पार्टी सभापतिको शपथग्रहणलगायतका कार्यव्यस्तताले उनि स्वयं उपस्थित नभई प्रतिनिधिमार्फत खसी पठाएका हुन् ।

कांग्रेस पार्टीको प्रवक्ता प्रदिप वानिय, जिल्ला सदस्य योगेश्वर अधिकारी, हेमराज राई, प्रकाश दाहाल, मानेभञ्ज्याङ सभापति हुकुम राई र मानेभञ्ज्याङ–०६, वडा सभापति गन्जुराम राईलगायत नेताहरूले कारागारमा पुगेर खसी हस्तान्तरण गरेका छन् ।

कैदीबन्दीलाई हरेक वर्ष मानविय सहायताका हिसाबले यस्तो सहयोग गर्दै आएको खतिवडाले बताए । ‘कारागारको जीवन कष्टकर हुन्छ । अपराधमा संलग्न भएर त्यहाँ पुगेपनि चाडपर्वको बेला रमाउने चाहाना हुँदो रहेछ । कैदीबन्दीहरु सजाय भुक्तान गरिसकेपछि फेरि समाजमा फर्किएर असल नागरिक बनेर घुलमिल गर्नुहुन्छ । कारागारलाई कारबाही भोग्ने थलो मात्रै होइन सुधार केन्द्रका रुपमा पनि विकास गर्नुपर्छ । कैदीलाई पनि रामहरिले खसी खुवाउँछ भनेर कतिपयले टिप्पणी गरेको सुन्छु । तर मानवियताका नाताले चाडपर्वमा सानो सहयोग गरेको हो ।’ भिजनसँग उनले भने ।