ओखलढुंगामा लैङ्गिक हिंसा अन्त्यका लागि विभिन्न कार्यक्रम सहित १६ दिने लैङ्गिक हिंसा उन्मूलन अभियान सुरु गरिएको छ । बुधबार जनचेतनामूलक गतिविधि सञ्चालन गर्दै अभियानको थालनी गरिएको हो ।
जिल्लामा यस बर्ष ‘लैंगिक हिंसा अन्त्यका लागि ऐक्यबद्धताः पीडितको संरक्षण, दण्डहिनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने नारासहित अभियानको अवसरमा सचेतनामूलक कार्यक्रम थालिएको छ ।
लैङ्गिक हिंसा न्यूनिकरणका लागि परिवार, विद्यालय, स्थानीय तह र सरोकारवालाको संयुक्त प्रयास आवश्यक रहेको महिला तथा बालबालिका शाखाकी प्रमुख सरिता तामाङले बताइन् । यस बर्ष पनि लैङ्गिक हिंसा न्युनकिरणका लागि विद्यार्थी लक्षित कार्यक्रम गर्ने नगरपालिकाको योजना छ ।
नगरपालिकाको अगुवाईमा सञ्चालन हुने कार्यक्रममा सहयोगी हातहरुको समूह (सहास नेपाल) र ओखलढुंगा एकिकृत विकास समाज नेपाल ३० हजार र समुदायमा आधारित समावेशी विकास परियोजना (सिबिआइडी) ले ३० हजार आर्थिक सहयोगसँगै कार्यक्रममा समन्वय गर्नेछन् भने नगरपालिकाले ७० हजार विनियोजन गरेको जनाएको छ । अन्य निकायले पनि जिम्मेवारी अनुसार समन्वय गर्नेछन् ।
बुधबार सिद्धिचरण नगरपालिका मेयर तेजन खनालको प्रमुख आतिथ्यता र उपमेयर केदारबाबु बस्नेतको अध्यक्षतामा बसेको बैठकले १६ दिनसम्म विद्यालय, समुदाय र सार्वजनिक स्थलमा सचेतना, सडक नाटक प्रदर्शन, अभिमुखीकरण, जानकारीमूलक प्रस्तुति गर्ने लगायतका निर्णय गरेको छ ।
नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म अर्थात मंसिर ९ गते देखि २४ गतेसम्म विभिन्न कार्यक्रम गर्ने नगरपालिका र अन्य स्थानीय तहले जनाएका छन् ।








प्रतिक्रिया