जिल्ला प्रशासन कार्यालय ओखलढुंगामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा अभद्र व्यवहारसम्बन्धी सात वटा मुद्दा दर्ता भएका छन् । दर्ता भएका मुद्दामध्ये पाँच वटाको फछ्र्योट भइसकेको जिल्ला प्रशासन कार्यालयको तथ्यांकले देखाएको छ ।
कार्यालयको मुद्दा तथा हातहतियार शाखाको विवरणअनुसार चालु आर्थिक वर्षको तीन महिनामा अभद्र व्यवहारसम्बन्धी सात मुद्दा दर्ता भएका हुन् । तीमध्ये पाँच वटा मुद्दा फछ्र्योट भएका छन् भने दुई वटा मुद्दा फछ्र्योट हुन बाँकी रहेको छ ।
यसैगरी, जिल्ला प्रशासन कार्यालयमा सवारी क्षतिपूर्तिसम्बन्धी एउटा मुद्दा दर्ता भएकोमा उक्त मुद्दासमेत फछ्र्योट भएको छ । अनियमितता तथा अख्तियारमा परेको उजुरीतर्फ तीन वटा उजुरी दर्ता भएका छन् । तीमध्ये दुई वटा उजुरी फछ्र्योट भइसकेका छन् भने एउटा उजुरी फछ्र्योट हुन बाँकी रहेको छ ।
जिल्ला प्रशासन कार्यालयको मुद्दा तथा हातहतियार शाखाअन्तर्गत विभिन्न प्रकृतिका मुद्दा तथा उजुरीको दर्ता र फछ्र्योटको अभिलेख राखिने गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय ओखलढुंगाका सूचना अधिकारी एवम् प्रशासकीय अधिकृत मनोजकुमार मगरका अनुसार विस्फोटक पदार्थ प्रयोगसम्बन्धी इजाजत दर्ता तथा नवीकरण र हातहतियार इजाजत दर्तासम्बन्धी शीर्षकमा चालु आर्थिक वर्षको उक्त अवधिमा कुनै दर्ता भएको छैन । कार्यालयको तथ्यांकअनुसार तीन महिनाको अवधिमा अभद्र व्यवहारसम्बन्धी मुद्दा सबैभन्दा बढी दर्ता भएका छन् ।

प्रतिक्रिया