पोकली झरनामा युवाले राखे सचेतना बोर्डः सहजता, सुरक्षा र मार्गनिर्देशनमा जोड


ओखलढुंगाको पर्यटकीय गन्तव्य पोकली झरना क्षेत्रमा स्थानीय युवाले विभिन्न स्थानमा सचेतना बोर्ड राखेका छन् । पर्यटकको सहजता, सुरक्षा र सही मार्गनिर्देशनका लागि विभिन्न स्थानमा स्वागत, सूचना तथा चेतनामूलक बोर्ड जडान गरेका हुन् ।


लिखु गाउँपालिका–९ पोकलीस्थित हिमचुली जनजागरण युवा क्लबको सक्रियता र स्थानीयवासीसँगको समन्वयमा दशैँ–तिहारलगायत चाडपर्वमा झरना घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै बोर्डहरू राखिएको छ ।


क्लबले पर्यटकलाई झरना क्षेत्रको भ्रमणमा आवश्यक सूचना उपलब्ध गराउने, सही मार्ग पहिल्याउन सहयोग गर्ने र सुरक्षित रूपमा अवलोकन गर्ने वातावरण बनाउन यो पहल गरेको छ । क्लबका कार्यसमिति सदस्य सोमबहादुर खड्काका अनुसार झरना क्षेत्रमा पर्यटकको सहजता र सुरक्षालाई ध्यानमा राखेर क्लबको २२ हजार बढी लागतमा बोर्डहरू जडान गरिएको हो ।


पछिल्लो समय झरना क्षेत्रमा रहेको पुलमा अत्यधिक भीड गर्ने, पुल हल्लाउने तथा जोखिमपूर्ण गतिविधि गर्ने समस्या देखिएकाले क्लबले यस्ता कार्य नगर्नसमेत आग्रह गरेको छ । यसका लागि पर्यटकलाई सचेत गराउने सन्देशसहितका बोर्ड राखेर सुरक्षित भ्रमणको महत्त्वबारे जानकारी गराइएको छ ।


प्राकृतिक सुन्दरताले भरिपूर्ण पोकली झरना ओखलढुंगाको महत्त्वपूर्ण पर्यटकीय गन्तव्य हो । झरनाको सौन्दर्य अवलोकन गर्न पुग्ने पर्यटकलाई आवश्यक सूचना र सुरक्षा सन्देश उपलब्ध गराउने स्थानीय युवाको यो पहलले पर्यटकीय क्षेत्रलाई व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको सरोकारवालाले बताएका छन् ।