ईभीको मनलाग्दी भाडा असुलीमा ट्राफिकको नजर: १० यात्रुले पाए रकम फिर्ता

भिजन समाचार
26
Shares

ओखलढुंगाबाट काठमाडौं जाने ईभी गाडीले तोकिएकोभन्दा बढी भाडा असुलेपछि प्रहरीले यात्रुलाई रकम फिर्ता गराएको छ ।


एक हजार पाँच सय रुपैयाँ भाडा लाग्नेमा यात्रुबाट दुई हजार रुपैयाँका दरले भाडा लिइएको पाइएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाले बढी असुलिएको रकम फिर्ता गराएको हो ।


बढी भाडा असुलीमा परेका १० जना यात्रुलाई रकम फिर्ता गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । चालकलाई चेतावनीसँगै कारबाही पनि गरिएको कार्यालयले जनाएको छ । चाडपर्वका बेला यात्रुको चाप बढेको मौका छोपेर सार्वजनिक सवारी साधनले मनलाग्दी भाडा असुल्न सक्ने भएकाले प्रहरीले निगरानी, चेकजाँच र अनुगमनलाई कडाइ गरेको छ ।


यात्रुलाई तोकिएको भाडादरभन्दा बढी रकम नतिर्न र बढी भाडा असुली भएमा सम्बन्धित निकायमा जानकारी गराउन प्रहरीले आग्रह गरेको छ । यात्रु सहायता कक्षबाट यात्रुका गुनासो सुन्ने र सम्बोधन गर्ने काम पनि भइरहेको प्रहरीले जनाएको छ ।


तथ्यांक अनुसार हालसम्म ६० बढी यात्रुले ओखलढुंगा सदरमुकामको रमाइलोडाँडा र मानेभन्ज्याङको हर्कपुरमा रहेको यात्रु सहायता कक्षबाट सेवा लिएका छन् ।