ओखलढुंगामा पूर्ण खोप कार्यक्रमका लागि घरधुरी सर्वेक्षण गरिने

भिजन समाचार
0
Shares

ओखलढुंगामा पूर्ण खोप घोषणा कार्यक्रमलाई निरन्तरता दिन आगामी मंसिरदेखि घरधुरी सर्वेक्षण गरिने भएको छ । स्वास्थ्य कार्यालय रुम्जाटारले बैठक बसेर पूर्ण खोप कार्यक्रमसम्बन्धी वार्षिक समीक्षा तथा आगामी कार्यक्रमबारे छलफल गर्दै मंसिर महिनादेखि घरधुरी सर्वेक्षणको काम अघि बढाउने निर्णय गरिएको हो ।

सर्वेक्षण कार्य आगामी पुस मसान्तसम्म सम्पन्न गर्ने र यसका लागि सम्बन्धित सबै सरोकारवाला निकायसँग आवश्यक समन्वय तथा जानकारी आदानप्रदान गर्ने निर्णय भएको छ ।

बैठकमा कार्यालयकी खोप फोकल पर्सन उमा गुरुङले आर्थिक वर्ष २०८२-८३ को खोप कार्यक्रमको वार्षिक विवरण प्रस्तुत गरेकी थिइन् । पूर्ण खोपसँगै विद्यालय केन्द्रित खोप सेवाको प्रगति विवरणसमेत प्रस्तुत गर्दै आवश्यकताअनुसार छलफल गरी निर्णय गरिएको छ ।
त्यस्तै, आर्थिक वर्ष २०८३-८४ को वार्षिक कार्यक्रम सञ्चालन गर्दा वार्षिक बजेट तथा कार्यदिशिकाअनुसार अघि बढ्ने निर्णय गरिएको छ । जिल्लाभित्रका खोप केन्द्रलाई व्यवस्थित बनाउने विषयमा समेत छलफल भएको छ ।

पालिका अन्तर्गत रहेका खोप केन्द्रलाई व्यवस्थित बनाउन जिल्ला सभा, नगर तथा गाउँसभा र सम्बन्धित निकायसँग निरन्तर समन्वय गर्ने निर्णयसमेत बैठकले गरेको स्वास्थ्य कार्यालय रुम्जाटार प्रमुख मनिषा तामाङले जानकारी दिइन् । खोप केन्द्रहरु अझै पनि व्यवस्थित नहुँदा असहज रहेको र विभिन्न स्वास्थ्य जोखिमसमेत हुने भएको यो निर्णय गरिएको उनको भनाई छ ।

पूर्ण खोप कार्यक्रमको प्रभावकारी कार्यान्वयन, खोप सेवाको पहुँच विस्तार तथा कार्यक्रमलाई निरन्तरता दिन बैठकले विभिन्न निर्णय गरेको हो ।
बैठकमा जिल्ला समन्वय समिति प्रमुख टेकराज भट्टराई, प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, स्वास्थ्य कार्यालय रुम्जाटारकी प्रमुख तामाङ लगायत सरोकारवालाको सहभागिता रहेको थियो ।