व्याकुल माइला गोल्डकपको दसौँ संस्करण सुरु

भिजन समाचार
0
Shares

ओखलढुंगा । राष्ट्रिय गानका सर्जक प्रदीपकुमार राई ‘व्याकुल माइला’को सम्मानमा आयोजना हुँदै आएको व्याकुल माइला गोल्डकप फुटबल प्रतियोगिताको दसौँ संस्करण सोमबारदेखि सुरु भएको छ ।

कोजाग्रत पूर्णिमाको अवसरमा व्याकुल माइलाको जन्मथलो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६, सोक्माटार स्थित दूधकोसी किनारको ब्आलेमबगर खेलमैदानमा प्रतियोगिता सुरु भएको हो ।

‘खेलकुदको माध्यमबाट विकासको अभियान’ भन्ने नाराका साथ सञ्चालन भइरहेको प्रतियोगितामा विभिन्न जिल्लाका १८ टोली सहभागी छन् । स्थानीय प्रतिभावान् खेलाडीलाई अवसर दिने, युवालाई सकारात्मक गतिविधिमा जोड्ने, खेल पर्यटन प्रवर्द्धन गर्ने तथा स्थानीय अर्थतन्त्रमा टेवा पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको मूल आयोजक समितिका संयोजक मिलनकुमार राईले बताए ।

राईका अनुसार प्रतियोगितामार्फत राष्ट्रिय गानका सर्जक व्याकुल माइलाको योगदानलाई नयाँ पुस्तासम्म पु¥याउने प्रयाससमेत गरिएको छ ।

प्रतियोगिताको उद्घाटन कोशी प्रदेश सांसद तथा पूर्व भौतिक पूर्वाधारमन्त्री प्रदीपकुमार सुनुवारले गरेका हुन् । प्रतियोगिता आगामी १७ गते सम्म सञ्चालन हुनेछ ।

२०६८ सालदेखि व्याकुल माइलाको जन्मथलोमा हरेक वर्ष आयोजना हुँदै आएको प्रतियोगिताका लागि यस वर्ष मानेभञ्ज्याङ गाउँपालिकाले १० लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।

प्रतियोगितामा कुल पाँच लाख ६० हजार ६६६ रुपियाँ बराबरको नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । विजेता टोलीले तीन लाख ३३३ रुपियाँ, उपविजेताले एक लाख ५० हजार १११ रुपियाँ तथा सेमिफाइनलमा पुग्ने दुई टोलीले जनही ४० हजार १११ रुपियाँ नगद पुरस्कार पाउनेछन् । विजेता टोलीलाई सिल्ड, मेडल र प्रमाणपत्र समेत प्रदान गरिनेछ ।

यस्तै, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उदीयमान खेलाडीलाई जनही पाँच हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ । सहभागी टोलीमध्ये उत्कृष्ट हुने एक टोलीलाई १० हजार रुपियाँसहित ‘दिल–कर्ण बेस्ट टिम अवार्ड’ प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको पहिलो संस्करण २०६८ सालमा आयोजक नयाँ नेपाल सरोकार समाजले जितेको थियो । दोस्रो संस्करण २०६९ मा सिर्जना युवा समूह कटारी, तेस्रो र चौथो संस्करण क्रमशः २०७० र २०७१ मा सुनकोसी युवा समूह घुर्मी विजेता बनेका थिए ।

त्यसैगरी पाँचौँ संस्करण २०७२ मा हिलेपानी फुटबल क्लब इमाडोल, छैटौँ २०७३ मा नयाँ नेपाल सरोकार समाज, सातौँ २०७४ मा सुनकोसी युवा समूह घुर्मी, आठौँ २०७६ मा नयाँ नेपाल सरोकार समाज र नवौँ संस्करण २०८० मा दूधकौशिका आधारभूत विद्यालय सोक्माटार विजेता बनेका थिए ।