दुई महिनामै सिद्धिचरण नगरपालिकामा २८ लाख बढी राजश्व संकलन


ओखलढुंगाकाे सिद्धिचरण नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को दुई महिनामा २८ लाख ४२ हजार ६९१ रुपैयाँ २० पैसा राजश्व संकलन गरेको छ ।

नगरपालिकाको राजश्व उपशाखा प्रमुख शिवराज प्रधानका अनुसार सबैभन्दा बढी भूमिकर र मालपोत बापत १३ लाख ४१ हजार ८७५ रुपैयाँ २५ पैसा संकलन भएको छ । त्यसपछि व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट एक लाख ८६ हजार ९७० रुपैयाँ, नक्सा पास दस्तुरबाट एक लाख ७६ हजार ३९४ रुपैयाँ ७४ पैसा र सम्पत्ति करबाट एक लाख ५३ हजार ३१७ रुपैयाँ ५० पैसा संकलन भएको छ ।

त्यस्तै कृषि तथा पशुजन्य वस्तुको व्यवसायिक कारोबार करबाट २ लाख ४१ हजार, सिफारिस दस्तुरबाट एक लाख ५४ हजार ३५०, वहाल करबाट एक लाख ६४ हजार ८१४ रुपैयाँ ७१ पैसा, अन्य बिक्री तथा सेवाबाट ९४ हजार १७५, व्यक्तिगत घटना दर्ता दस्तुरबाट ६८ हजार र अन्य विभिन्न शीर्षकबाट समेत राजश्व संकलन भएको छ ।

प्रधानका अनुसार वडागत हिसाबमा सबैभन्दा बढी वडा नं. ६ बाट चार लाख ७१ हजार ८४७ रुपैयाँ २५ पैसा संकलन भएको छ ।

गत आर्थिक वर्षमा सिद्धिचरण नगरपालिकाले कुल एक करोड ७२ लाख ५० हजार ५५६ रुपैयाँ ४७ पैसा राजश्व संकलन गरेको थियो । चालु वर्षको सुरुवाती दुई महिनामा देखिएको संकलन वृद्धिले नगरको राजश्व लक्ष्य सहजै पुरा हुने नगरपालिकाको दाबी छ ।