ओखलढुंगा । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकामा प्रवेश गर्नेबित्तिकै पाँच फरक भाषामा स्वागत सन्देश देख्न पाईन्छ । स्थानीय भाषा, लिपि र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले गाउँपालिका–१ लिम्तीमा निर्माण गरिएको प्रवेशद्वारमा पाँच भाषामा स्वागत सन्देश लेखिएको छ ।
प्रवेशद्वारमा शेर्पा र तामाङ समुदायको सम्भोट लिपि, सुनुवार समुदायको कोँइच लिपि र नेवार समुदायको रञ्जना लिपि प्रयोग गरिएको छ । त्यससँगै नेपाली र अंग्रेजी भाषामा समेत स्वागत सन्देश राखिएको छ ।
खिजिदेम्बा गाउँपालिकामा शेर्पा, तामाङ, सुनुवार र नेवार समुदायको उल्लेख्य बसोबास रहेको छ । गाउँपालिकाभित्र रहेका विभिन्न समुदायको भाषिक तथा सांस्कृतिक पहिचानलाई सार्वजनिक स्थानमै देखिने गरी प्रस्तुत गर्ने उद्देश्यले प्रवेशद्वारमा विभिन्न लिपि र भाषाको प्रयोग गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका प्रवेश गर्ने स्थानीय बासिन्दाका साथै नेपाली तथा विदेशी पर्यटकलाई समेत स्वागत गर्ने गरी नेपाली र अंग्रेजी भाषालाई समावेश गरिएको हो । एउटै प्रवेशद्वारमा स्थानीय समुदायले प्रयोग गर्ने फरक–फरक लिपिसँगै नेपाली र अंग्रेजी भाषा राखिएपछि प्रवेशद्वार खिजिदेम्बाको भाषिक तथा सांस्कृतिक विविधता चिनाउने माध्यम बनेको छ ।
खिजिदेम्बा गाउँपालिका र ग्रीन भेन्चर्स लिमिटेडको सहकार्यमा निर्माण गरिएको प्रवेशद्वारको संरचना, रङरोगन, विभिन्न भाषामा लेखन तथा सांस्कृतिक पहिचान झल्काउने तस्बिर निर्माणमा आठ लाख रुपैयाँभन्दा बढी खर्च भएको गाउँपालिका–१ का वडाध्यक्ष कुमार सुनुवारले जानकारी दिए ।
उनका अनुसार प्रवेशद्वार निर्माणको काम करिब एक वर्षअघि सुरु गरिएको थियो । संरचना निर्माण केही महिनाअघि नै सम्पन्न भए पनि रङरोगन, विभिन्न भाषामा स्वागत सन्देश लेख्ने तथा सांस्कृतिक पहिचान झल्काउने तस्बिर राख्ने काम हालै पूरा भएको हो ।
बहुभाषिक प्रवेशद्वार निर्माणसँगै गाउँपालिकाले वडा कार्यालय, विद्यालय लगायत सरकारी कार्यालयमा समेत विभिन्न भाषामा सूचना तथा परिचयात्मक बोर्ड राख्ने काम सुरु गरेको छ ।
स्थानीय भाषा र लिपिको सार्वजनिक प्रयोग बढाउँदै नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कार र संस्कृतिसँग जोड्ने तथा बाह्य आगन्तुकलाई खिजिदेम्बाको मौलिक पहिचानबारे जानकारी गराउने उद्देश्यले बहुभाषिक अभियान अघि बढाइएको गाउँपालिकाले जनाएको छ ।







प्रतिक्रिया