ओखलढुंगा । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–७ टोक्सेलमा प्रस्तावित प्रादेशिक अस्पताल तथा मेडिकल कलेज निर्माणको प्रक्रिया अघि बढाउन कोशी प्रदेश सरकार र स्थानीय संघर्ष समितिबीच पाँचबुँदे सहमति भएको छ ।
लामो समयदेखि अस्पताल निर्माणको माग गर्दै आन्दोलनरत संघर्ष समितिका संयोजक माधवप्रसाद ढुंगाना र कोशी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुलीबीच अस्पताल निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाउने सहमति भएको हो ।
सहमति अनुसार अस्पताल निर्माणका लागि स्थानीयले दान गरेको जग्गाको प्राविधिक टोलीमार्फत तत्काल निरीक्षण गरिनेछ । सामाजिक विकास मन्त्रालयको नाममा रहेको १६७ रोपनी जग्गा स्वास्थ्य मन्त्रालयको नाममा हस्तान्तरण गर्न आवश्यक प्रक्रिया अघि बढाइने सहमति भएको छ ।
त्यस्तै, २०८३ साल मंसिरभित्र अस्पताल निर्माणका लागि वातावरणीय परीक्षण गर्ने, आवश्यक स्रोत व्यवस्थापन गर्ने र चालु आर्थिक वर्षमा भएका कामको प्रगति विवरण तयार गर्ने सहमति भएको छ ।
पहिलो र तेस्रो बुँदाको कार्यान्वयन सम्बन्धी प्रतिवेदन तयार भएपछि त्यसकै आधारमा आगामी बजेट तथा कार्यक्रममा अस्पताल निर्माणका लागि आवश्यक स्रोत सुनिश्चित गर्ने सहमतिमा उल्लेख छ ।
प्रदेश सरकारसँग सहमति भएपछि हाल जारी आन्दोलन स्थगित गर्ने निर्णय गरिएको संघर्ष समितिका संयोजक ढुंगानाले जानकारी दिए ।
स्थानीयले अस्पताल निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराएको वर्षौं बितिसक्दा पनि निर्माण प्रक्रिया अघि नबढेको भन्दै संघर्ष समितिले आन्दोलन गर्दै आएको थियो । माग सम्बोधन नभएपछि संयोजक ढुंगाना सहितको टोलीले कोशी प्रदेशका मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन तथा भोक हड्तालसमेत सुरु गरेको थियो ।
पाँचबुँदे सहमतिसँगै अब अस्पताल निर्माणका लागि जग्गा निरीक्षण, जग्गा हस्तान्तरण, वातावरणीय परीक्षण तथा स्रोत सुनिश्चितता सहितका प्रक्रिया अघि बढ्ने भएको छ । अस्पताल निर्माणकाे माग राख्दै टाेक्सेलवासीले गत फागुनमा सम्पन्न प्रतिनिधी सभाकाे निर्वाचन बहिस्कार गरेका थिए ।








प्रतिक्रिया