आफ्नै भवनमा सब–डिभिजन वन कार्यालयहरू

भिजन समाचार
52
Shares

ओखलढुंगा । ओखलढुंगामा वर्षौँदेखि भाडाका घरबाट सञ्चालन हुँदै आएका सब–डिभिजन वन कार्यालयहरू अब आफ्नै भवनबाट सञ्चालन हुने भएका छन् । डिभिजन वन कार्यालय ओखलढुंगाको पहलमा जिल्लाका छमध्ये अधिकांश सब–डिभिजन वन कार्यालयका भवन निर्माण सम्पन्न भएका छन् ।

चालु आर्थिक वर्षभित्र सबै सब–डिभिजन वन कार्यालयलाई आफ्नै भवनबाट सञ्चालन गर्ने लक्ष्य राखिएको डिभिजन वन कार्यालय ओखलढुंगाका प्रमुख मनाराज राईले जानकारी दिए । कार्यालयको संस्थागत विकाससँगै सेवा प्रवाहलाई व्यवस्थित बनाउन आफ्नै भवन निर्माणलाई प्राथमिकता दिइएको राईको भनाइ छ ।

चिशंखुगढी सब–डिभिजन वन कार्यालयका लागि स्थानीय तहले जग्गा उपलब्ध गराएपछि काठबाट वातावरणमैत्री भवन निर्माण गरिएको छ । खिजिदेम्बा सब–डिभिजन वन कार्यालयको भवन पनि निर्माण सम्पन्न भएको छ ।

यस्तै, मानेभञ्ज्याङ सब–डिभिजन वन कार्यालयको भवन पूर्वाधार विकास कार्यालयमार्फत निर्माण भइरहेको छ । भवन निर्माण अन्तिम चरणमा पुगे पनि फिनिसिङका लागि बजेट अभाव रहेको कार्यालयले जनाएको छ ।

सुनकोशी–मोलुङ सब–डिभिजन वन कार्यालयको भवन भने निर्माण हुन बाँकी छ । कार्यालयका लागि जग्गा प्राप्तिको प्रक्रिया अघि बढिरहेको र चालु आर्थिक वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको प्रमुख राईले बताए ।

यसअघि भाडाका घरमा सब–डिभिजन वन कार्यालय सञ्चालन गर्दा वार्षिक करिब पाँच लाख रुपैयाँसम्म सरकारी रकम खर्च हुने गरेको थियो । आफ्नै भवन निर्माण भएपछि भाडाबापतको खर्च बचत हुनुका साथै कार्यालय सञ्चालनसमेत व्यवस्थित हुने अपेक्षा गरिएको छ ।