नक्कली नोटसहित दुई जना पक्राउ

भिजन समाचार
0
Shares


ओखलढुंगा ।
ओखलढुंगाको सुनकोशी गाउँपालिकामा नक्कली नेपाली नोटसहित दुई जना पक्राउ परेका छन् । कृषि जन्य पशु चौपाया खरिद–बिक्री गर्ने क्रममा नक्कली नेपाली नोट प्रयोग गरी कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार असोज १९ गते दिउँसो सुनकोशी गाउँपालिका–९ ककनीबाट प्रहरी अधिकृत सहितको टोली खटिएर दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चम्पादेवी गाउँपालिका–४ सौरेनी बस्ने २१ वर्षीय कृष्ण खत्री र सोही स्थानका ३३ वर्षीय धुर्वबहादुर खत्री रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट नक्कली नोटजस्तो देखिने एक हजार रुपैयाँ दरका १९ थान नेपाली नोट बरामद गरेको जनाएको छ । यस्तै, बजाज पल्सर २०० सीसीको मोटरसाइकल एक थान, एमआई वान लेखिएको किप्याड मोबाइल एक थान र दुई वटा बोका समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई ओखलढुंगा जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।