सुनकोशीबाट आठ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित

भिजन समाचार
0
Shares

ओखलढुंगा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत ओखलढुंगाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिको टुंगो लागेको छ । बिहीबार राति सम्पन्न मतगणनाबाट जिल्लाका आठ स्थानीय तहबाट विभिन्न समावेशी समूह अन्तर्गत ३३ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् ।

निर्वाचित प्रतिनिधिमध्ये सबैभन्दा बढी सुनकोशी गाउँपालिकाबाट आठ जना छन् । सुनकोशीबाट कुमार लुईटेल, रुद्रप्रसाद अधिकारी, सुनिता अधिकारी, कमल तामाङ, बुद्धबहादुर तामाङ, विन्दा बोगटी, हरिचन्द्र श्रेष्ठ र लालकुमारी धमला निर्वाचित भएका हुन् ।

त्यसैगरी मानेभञ्ज्याङ र मोलुङ गाउँपालिकाबाट पाँच–पाँच जना प्रतिनिधि निर्वाचित भएका छन् । मानेभञ्ज्याङबाट रामहरि खतिवडा, बाला अधिकारी, ज्ञानेन्द्र रुम्दाली, पुतलीमाया राई र यसोदा कार्की तथा मोलुङबाट बालकृष्ण दाहाल, खिलानाथ दाहाल, हरिप्रसाद दाहाल, होमबहादुर विक र संगिता तामाङ निर्वाचित भएका छन् ।

खिजिदेम्बा गाउँपालिकाबाट प्रदीपकुमार सुनुवार, सुशीला तामाङ, रामकुमार सुनुवार र रोशन महतरा निर्वाचित भएका छन् । सिद्धिचरण नगरपालिकाबाट तेजेन्द्र खनाल, प्रविण राई र चन्द्रकला तामाङ, चम्पादेवी गाउँपालिकाबाट नवराज केसी, अजय लुईटेल र उज्जन बुढाथोकी तथा चिशंखुगढी गाउँपालिकाबाट नवीन राई, राजकुमार ढुंगाना र गोपालमान थापा निर्वाचित भएका छन् ।

लिखु गाउँपालिकाबाट गोविन्द पौडेल (पेस्ताेल) र कमल बहादुर विक केन्द्रीय महाधिवेशन प्रतिनिधि बनेका छन् ।

खुलातर्फ लुईटेललाई सबैभन्दा बढी मत

केन्द्रीय महाधिवेशन प्रतिनिधिको खुलातर्फ १० पदका लागि २२ जनाबीच प्रतिस्पर्धा भएको थियो । खुलातर्फ अजय लुईटेल, उज्जन बुढाथोकी, कमल तामाङ, कुमार लुईटेल, तेजेन्द्र खनाल, नवराज केसी, नवीन राई, प्रदीपकुमार सुनुवार, रामहरि खतिवडा र रुद्रप्रसाद अधिकारी निर्वाचित भएका छन् ।

खुलातर्फ कुमार लुईटेलले सबैभन्दा बढी १ हजार १०९ मत प्राप्त गरेका छन् । रामहरि खतिवडाले १ हजार मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन् ।

महिला खुलातर्फ चार पदका लागि आठ जनाबीच प्रतिस्पर्धा भएकोमा बाला अधिकारी, विन्दा बोगटी, सुशीला तामाङ र सुनिता अधिकारी निर्वाचित भएका छन् ।

श्रमिकतर्फ खिलानाथ दाहाल, पेसागत तथा विषय विज्ञतर्फ राजकुमार ढुंगाना, ३५ वर्षमुनिका युवा महिलातर्फ यसोदा कार्की तथा युवा पुरुषतर्फ रोशन महतरा र हरिचन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।

अपांगता समूहबाट गोपालमान थापा, अल्पसंख्यकतर्फ रामकुमार सुनुवार तथा दलिततर्फ होमबहादुर विक र कमलबहादुर विक निर्वाचित भएका छन् । प्रजातन्त्र सेनानी, सहिद परिवार तथा द्वन्द्वपीडिततर्फ बालकृष्ण दाहाल निर्वाचित भएका छन् ।

आदिवासी जनजाति खुलातर्फ तीन पदमा प्रविण राई, बुद्धबहादुर तामाङ र ज्ञानेन्द्र रुम्दाली तथा आदिवासी जनजाति महिलातर्फ चन्द्रकला तामाङ, पुतलीमाया राई र संगिता तामाङ निर्वाचित भएका छन् ।

खस आर्य महिलातर्फ लालकुमारी धमला तथा खस आर्य पुरुषतर्फ गोविन्द पौडेल र हरिप्रसाद दाहाल निर्वाचित भएका छन् ।

खुलातर्फ सर्वाधिक मत प्राप्त गरेका कुमार लुईटेल नेपाली कांग्रेसभित्र गगन थापा निकट नेताका रूपमा चिनिन्छन् । उनी २०८२ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ओखलढुंगाबाट उम्मेदवार बनेका थिए । उक्त निर्वाचनमा उनी पाँच मतको अन्तरले पराजित भएका थिए । लुईटेल विशेष महाधिवेशनको पक्षमा थिए ।

यसैबीच निर्वाचन मण्डलका अनुसार ओखलढुंगा प्रदेशसभा (क) को सभापतिमा विनोद केसी र प्रदेशसभा (ख) को सभापतिमा इन्द्र केसी निर्वाचित भएका छन् ।