ओखलढुंगा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत ओखलढुंगामा पार्टीको शेरबहादुर देउवा पक्षले वडा अधिवेशन सुरु गरेको छ । पूर्वनिर्धारित कार्यतालिका अनुसार देउवा पक्षले बिहीबार लिखु गाउँपालिकाबाट वडा अधिवेशनको औपचारिक सुरुवात गरेको हो ।
लिखु गाउँपालिका–८ टारकेराबारीमा वडा अधिवेशन सम्पन्न गर्दै देउवा पक्षले जिल्लामा वडा तहको अधिवेशन प्रक्रिया अघि बढाएको नेपाली कांग्रेस देउवा पक्षकी केन्द्रीय सदस्य गोमा केसीले जानकारी दिइन् ।
उनका अनुसार अधिवेशनबाट गणेश मगरको सभापतित्वमा वडा कार्यसमिति चयन भएको छ । वडा अधिवेशनमा कांग्रेसका स्थानीय नेता, कार्यकर्ता तथा प्रतिनिधिहरूको सहभागिता रहेको केसीले बताइन् ।
उनले संगठनलाई वडा तहबाटै थप सक्रिय र व्यवस्थित बनाउँदै अधिवेशन प्रक्रिया अघि बढाउने बताइन् । केन्द्रीय तहबाट तय गरिएको कार्यतालिका अनुसार असोज २० गतेभित्र जिल्लाका सबै वडाको अधिवेशन सम्पन्न गर्ने देउवा पक्षको तयारी रहेको उनको भनाइ छ ।
वडा अधिवेशन सम्पन्न भएपछि क्रमशः पालिका अधिवेशन गर्ने तयारी गरिएको केसीले बताइन् । वडा तहबाट नेतृत्व चयन गर्दै पालिका, क्षेत्र, प्रदेश र केन्द्रीय तहसम्मको अधिवेशन प्रक्रियालाई अघि बढाउने देउवा पक्षको तयारी छ ।
यसैबीच, ओखलढुंगामा कांग्रेसको गगन थापा पक्षको अधिवेशन प्रक्रिया भने यसअघि नै अघि बढिरहेको छ । वडा तथा पालिका अधिवेशन सम्पन्न भएसँगै क्षेत्रीय, प्रदेश तथा केन्द्रीय महाधिवेशन प्रतिनिधि चयनका लागि भएको मतदानको मतगणना जारी छ । केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको अन्तिम परिणामसमेत सार्वजनिक हुने क्रममा रहेको छ ।
ओखलढुंगामा कांग्रेसको महाधिवेशन अन्तर्गत जिल्लाभर दुई पक्षले छुट्टाछुट्टै संगठनात्मक गतिविधि र अधिवेशन प्रक्रिया अघि बढाएका छन् । देउवा पक्षले लिखुबाट वडा अधिवेशन सुरु गरेसँगै जिल्लामा कांग्रेसको अर्को धारको अधिवेशन प्रक्रिया पनि औपचारिक रूपमा सुरु भएको हो ।

प्रतिक्रिया