राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगाले चालु आर्थिक वर्षमा सञ्चालन गरेका कार्यक्रमको अन्तर निकाय संयुक्त अनुगमन गरिएको छ । एकाईले चालु आ.व २०८२/०८३ मा सञ्चालन गरेका बाख्रा जोन र आलु जोन अन्तर्गताका कार्यक्रमहरूको स्थलगत अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा बाख्रा जोन अन्तर्गत निर्माण गरिएका उन्नत प्रविधियुक्त बाख्रा खोर, बाख्रापालन तथा आलु जोन अन्तर्गत निर्माण भएका आलु भण्डारण घर -रस्टिक स्टोर), रैथाने बाली प्रवद्र्धन अन्तर्गत रैथाने बाली संकलन तथा विक्री केन्द्रहरूको निरीक्षण गरिएको कार्यक्रम कार्यान्वयन एकाईका प्रमुख हेमबहादुर आले मगरले जानकारी दिए ।
जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख टेकराज भट्टराईको संयोजकत्वमा भएको अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, जिल्ला प्रहरी कार्यालयका प्रमुख राजबाबु महर्जन, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
टोलीले सिद्धिचरण नगरपालिका–८ लगलगेस्थित प्रतीक्षा कृषि तथा पशुपन्छी फार्मद्वारा सञ्चालित चम्पादेवी अर्गानिक बिक्री केन्द्र सिद्धिचरण–२, बानियाछापको भुईटार बाख्रा फार्म, सोही वडाको ठुलाछापस्थित मातालक्षी कृषि तथा पशुपन्छी फार्म, सिद्धिचरण–६ मा सेतिदेवी अगुवा कृषक समूहद्वारा सञ्चालित आलु भण्डारण घर तथा रैथाने बाली बिक्री केन्द्र र सिद्धिचरण–७ टोड्केस्थित जलेश्वरी कृषक समूहको आलु भण्डारण घरको अवलोकन तथा अनुगमन गरेको थियो ।

एकाई प्रमुख आले मगरका अनुसार कार्यक्रमको प्रगति, गुणस्तर र प्रभावकारिताको मूल्याङ्कन गर्दै कृषक तथा सरोकारवालाबाट सुझाव संकलन गरी आगामी कार्यक्रमलाई अझ प्रभावकारी बनाउने उद्देश्यले अनुगमन गरिएको हो ।
उनका अनुसार अधिकांश संरचना तोकिएको मापदण्डअनुसार निर्माण भएको पाइएको छ भने कृषकहरूको लागत साझेदारी र कार्यक्रमप्रतिको प्रतिबद्धता पनि उत्साहजनक देखिएको छ ।

अनुगमन टोलीका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख टेकराज भट्टराईले कृषकहरूले इमानदारीपूर्वक मेहनत गरी कार्यक्रमलाई सफल बनाएको पाइएको बताए । उनले सरकारी लगानीको सदुपयोग भएको, संरचनाहरू प्रभावकारी रूपमा सञ्चालनमा रहेको र यस्ता कार्यक्रमले कृषकको उत्पादन तथा आम्दानी वृद्धि गर्न सकारात्मक योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया