पुरानो ट्युबबाट सुनकोशी तरेका चक्रबहादुरको सपना : जोर्तीघाटमा बने तीन जिल्ला जोड्ने पुल


ओखलढुंगा । शुक्रबार बिहान सुनकोशी र दुधकोशी नदीको संगमस्थल जोर्तीघाटमा घाम फैलिँदै थियो । नदीको सतहमा चम्किएको उज्यालोसँगै पुल उद्घाटन हेर्न स्थानीयको भीड बढ्दै गइरहेको थियो । वर्षौंदेखि जोखिम मोलेर नदी तर्दै आएका स्थानीय आज भने झोलुङ्गे पुलमाथि उभिएर खुसी साटिरहेका थिए ।

उदयपुरको कटारी नगरपालिका–१४ लेखानी बेन्डीटारका ७० वर्षीय चक्रबहादुर राई अन्य स्थानिय भन्दाबढी प्रफुल्लीत र हर्षित थिए । उनका लागि यो केवल पुल उद्घाटनको दिन थिएन, वर्षौंदेखिको संघर्ष र प्रतीक्षाको सपना पूरा भएको क्षण थियो । उनले कोशी पूजाका लागि पाठा, कुखुरालगायत सामग्री उनी आफैंले उत्साहका साथ जुटाएका थिए । पुल नहुदा पुरानाे ट्युब चढेर सुनकोशी तरेको दिन चक्रबहादुरले सम्झिए ।

उनले करिब ४५ वर्ष यही ठाउँमा डुंगा तार्ने घटुवारे काम गरेका थिए । उनकाे जीवनमा १६ वटा डुंगा फरेका थिए । सडक विस्तार हुनु अघि यही जाेर्तीघाटबाट डुंगा तरेर ओखलढुंगा, खाेटाङ र साेलुखुम्बुका नागरिक तराई मधेश आउजाउ गर्दथे ।

जोर्तीघाटमा पुल निर्माणको माग उठाउने अगुवामध्ये उनी पनि एक हुन् । राष्ट्रिय गानका सर्जक ब्याकुल माइला अर्थात् प्रदीपकुमार राईका पिता मानबहादुर राईको निधनपछि २०७५ पुस २६ गते आयोजित शुद्धाई कार्यक्रममा चक्रबहादुर पुनारो ट्युबको सहारामा सुनकोशी तरेर पुगेका थिए । उनी ब्याकुल माइलाका भान्जादाइ हुन् । सोही कार्यक्रममा उनले तत्कालीन जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख जयबहादुर श्रेष्ठसमक्ष पुल निर्माणको आवश्यकता राखेका थिए । त्यसपछि जिल्ला समन्वय समितिको हिउँदे अधिवेशनमार्फत योजना अघि बढाइएको जनाइएको छ ।

स्थानीयका अनुसार २०३६ सालमै उक्त स्थानमा पुल निर्माण गर्ने निर्णय गरेको भए पनि योजना कार्यान्वयन हुन सकेको थिएन । वर्षौंदेखि स्थानीयले सुनकोशी र दुधकोशी नदी जोखिम मोलेर तर्दै आएका थिए । वर्षायाममा नदी बढेपछि आउजाउ नै ठप्प हुन्थ्यो । कतिपयले पुरानाे, काठको डुंगा र पछिल्लो समय ट्युबको सहारा लिन्थे भने केहीले नदी तर्ने क्रममा ज्यानसमेत गुमाएका थिए ।

मानेभञ्ज्याङ गाउँपालिका–६ स्थित जोर्तीघाटमा अहिले ओखलढुंगा, खोटाङ र उदयपुरलाई जोड्ने दुई वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन् । ओखलढुंगा–खोटाङ जोड्ने पुल १३४ मिटर र ओखलढुंगा–उदयपुर जोड्ने पुल १७८ मिटर लम्बाइको छ । दुवै पुलका मुख्य जिप ब्लक ओखलढुंगातर्फ राखिएको जनाइएको छ ।

सस्पेन्सन बृज डिभिजन कार्यालय पुल्चोक, ललितपुर र अप्पर तामाकोशी जेकेजेभीबीच २०८१ असारमा निर्माण सम्झौता भएको थियो । निर्माण कम्पनीका सञ्चालक प्रकाश डाँगीका अनुसार विकट भूगोल र उदयपुरतर्फ पुलका ब्लक राख्ने स्थान तय गर्न समय लागेकाले निर्माण कार्य निर्धारित समयभन्दा करिब छ महिना ढिलो सुरु भएको थियो । करिब तीन करोड ३१ लाख रुपैयाँ लागतमा पुल निर्माण सम्पन्न गरिएको उनले जानकारी दिए ।

गणतन्त्र दिवस २०८३ काे अवसरमा जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख टेकराज भट्टराई र खोटाङका पूर्वसांसद टंकबहादुर राईले संयुक्त रूपमा रिबन काटेर पुल उद्घाटन गरेका छन् । पुल निर्माणपछि उदयपुरको कटारी नगरपालिका–१४ लेखानी बेन्डीटार, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ ठुलढुंगा तथा ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ हिलेपानी सोक्माटारका स्थानीय प्रत्यक्ष लाभान्वित हुने बताइएको छ ।

जोर्तीघाट जिल्लाकै सबैभन्दा होचो स्थानका रूपमा परिचित छ । सुनकोशी र दुधकोशी नदीको संगमस्थल, प्राकृतिक सौन्दर्य, धार्मिक महत्व तथा तीन जिल्लाको संगम बिन्दु भएकाले यो क्षेत्र आगामी दिनमा महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीयको विश्वास छ । पुल सञ्चालनसँगै व्यापार, कृषि उत्पादन ढुवानी र सामाजिक सम्बन्ध विस्तारमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । स्थानीय होटल व्यवसायीहरू पनि पुल बनेपछि आन्तरिक पर्यटकको आगमन बढ्ने आशामा छन् ।

ब्याकुल माइला भन्छन्, “जाेर्तीघाट तीन जिल्लाकाे संगमस्थल सँगै पाँच नदिकाे मिलन विन्दु भएकाले पर्यटन क्षेत्रका रुपमा विकास गर्न सकिने सम्भावना छ, यसका लागि पदमार्ग, सडक सँगै पर्यटकीय पुर्वाधार बनाउन आवश्यक छ।” वर्षौंदेखि पुनारो ट्युब चढेर सुनकोशी तर्दै आएका चक्रबहादुर राईजस्ता धेरैका लागि यो पुल केवल सुविधा होइन, जोखिम माथिको विजय बनेको छ ।