नेता शिक्षकका विद्यालयमा कमजोर शैक्षिक अवस्था

सांकेतिक तस्वीर: एआई

ओखलढुंगा । जिल्लाको आठ स्थानीय तहमध्ये मानेभञ्ज्याङ गाउँपालिकाको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा कमजोर देखिएको छ । गाउँपालिका भरबाट परीक्षामा सहभागी ३०३ विद्यार्थीमध्ये १५५ जना मात्र उत्तीर्ण भएका छन् भने १४८ जना अनुत्तीर्ण भएका छन् । समग्र उत्तीर्ण प्रतिशत ५१ दशमलव १६ रहेको छ ।

कमजोर नतिजा ल्याएका विद्यालयका प्रधानाध्यापक विभिन्न शिक्षक संगठनसँग आबद्ध नेतासमेत रहेका छन् । गाउँपालिकाको सबैभन्दा कमजोर नतिजा वडा नं. ६ स्थित महादेवस्थान माध्यमिक विद्यालय, हिलेपानीको देखिएको छ । विद्यालयबाट एसईईमा सहभागी २६ विद्यार्थीमध्ये २ जना मात्र उत्तीर्ण भएका छन् । विद्यालयका प्रधानाध्यापक नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघसँग आबद्ध रहेको बताइएको छ ।

त्यसैगरी, नेपाल शिक्षक संघ ओखलढुंगा जिल्ला अध्यक्ष रमेश कुमार अधिकारी प्रधानाध्यापक रहेको राज्यलक्ष्मी माध्यमिक विद्यालय उबुँको नतिजा पनि कमजोर देखिएको छ । उक्त विद्यालयबाट परीक्षामा सहभागी २९ विद्यार्थीमध्ये ७ जना मात्र उत्तीर्ण भएका छन् । विद्यालयको उत्तीर्ण प्रतिशत २४ दशमलव १४ रहेको छ भने २२ जना अनुत्तीर्ण भएका छन् । विद्यालयका कक्षा तहका उत्कृष्ट पाँचभित्र पर्ने विद्यार्थीसमेत अनुत्तीर्ण भएको स्रोतले जनाएको छ ।

वडा नं. २ वाक्सास्थित मनकामना माध्यमिक विद्यालयबाट सहभागी २१ विद्यार्थीमध्ये ६ जना मात्र उत्तीर्ण भएका छन् । विद्यालयको उत्तीर्ण प्रतिशत २८ दशमलव ५७ रहेको छ । विद्यालयका प्रधानाध्यापक महेन्द्र कार्की शिक्षक संघसँग आबद्ध छन् ।

त्यस्तै, शिक्षक संघ निकट नविन राई प्रधानाध्यापक रहेको वडा नं. ९ माधवपुरस्थित निकेत माध्यमिक विद्यालयबाट एसईईमा सहभागी २६ विद्यार्थी मध्ये ३ जना मात्र उत्तीर्ण भएका छन् । विद्यालयको उत्तीर्ण प्रतिशत करिब १२ रहेको छ ।

यद्यपि, शिक्षक संघका नेताले नेतृत्व गरेका केही विद्यालयले भने उत्कृष्ट नतिजा हासिल गरेका छन् । शिक्षक संघकै नेता खिलाराज श्रेष्ठ प्रधानाध्यापक रहेको वडा नं. १ मोलीस्थित कालिका माध्यमिक विद्यालयले ३१ विद्यार्थीमध्ये २९ जनालाई उत्तीर्ण गराउँदै ९३ दशमलव ५५ प्रतिशत नतिजा निकालेको छ ।

त्यस्तै, नारायण प्रसाद बास्तोला प्रधानाध्यापक रहेको वडा नं. ५ स्थित भगवती माध्यमिक विद्यालयबाट सहभागी ८६ विद्यार्थीमध्ये ७८ जना उत्तीर्ण भएका छन् । विद्यालयको उत्तीर्ण प्रतिशत ९० दशमलव ७० रहेको छ ।

मानेभञ्ज्याङ गाउँपालिकामा माध्यमिक तह सञ्चालन भएका आठ विद्यालय रहेका छन् । गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले कमजोर नतिजाप्रति गाउँपालिका गम्भीर रहेको बताएका छन् । उनका अनुसार नतिजा सार्वजनिक भएसँगै प्रधानाध्यापक, शिक्षक तथा सरोकारवालासँग समीक्षा गरिएको छ । “यसपटकको नतिजाले हामीलाई सोच्न बाध्य बनाएको छ । कहाँ कमजोरी भयो भन्ने विषयमा समीक्षा भइरहेको छ,” अध्यक्ष रुम्दालीले भने ।

सिद्धिचरण उत्कृष्ट

जिल्लाका आठ स्थानीय तहमध्ये यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजामा सिद्धिचरण नगरपालिका उत्कृष्ट देखिएको छ । शिक्षा विकास तथा समन्वय एकाइका अनुसार सिद्धिचरणले जिल्लामै सबैभन्दा बढी ९३.३३ प्रतिशत उत्तीर्ण नतिजा हासिल गरेको हो ।

सिद्धिचरणका ४२० विद्यार्थीमध्ये ३९२ जना उत्तीर्ण भएका छन् भने २८ जना नन–ग्रेडेड (एनजी) भएका छन् । उत्तीर्ण प्रतिशतका आधारमा लिखु गाउँपालिका दोस्रो स्थानमा रहेको छ । लिखुका १६० विद्यार्थीमध्ये १४७ जना उत्तीर्ण र १३ जना एनजी भएका छन् । त्यहाँ उत्तीर्ण प्रतिशत ९१.८८ रहेको छ ।

त्यसैगरी सुनकोशी गाउँपालिकामा २९१ विद्यार्थीमध्ये २५१ जना उत्तीर्ण भएका छन् भने ४० जना एनजी भएका छन् । सुनकोशीको उत्तीर्ण प्रतिशत ८६.२५ रहेको छ । मोलुङ गाउँपालिका मा २२५ मध्ये १९४ जना उत्तीर्ण र ३१ जना एनजी हुँदा उत्तीर्ण प्रतिशत ८६.२२ पुगेको छ ।

यस्तै चिशंखुगढी गाउँपालिका मा १५० विद्यार्थीमध्ये १२६ जना उत्तीर्ण र २४ जना एनजी भएका छन् । चिशंखुगढीको उत्तीर्ण प्रतिशत ८४ रहेको छ । चम्पादेवी गाउँपालिका मा ३०८ मध्ये २४३ जना उत्तीर्ण र ६५ जना एनजी भएका छन् । त्यहाँ उत्तीर्ण प्रतिशत ७८.९० रहेको छ ।

नतिजाका आधारमा कमजोर प्रदर्शन गर्ने स्थानीय तहमा खिजीदेम्बा गाउँपालिका र मानेभञ्ज्याङ गाउँपालिका रहेका छन् । खिजीदेम्बाका १६९ विद्यार्थीमध्ये ८७ जना मात्र उत्तीर्ण भएका छन् भने ८२ जना एनजी भएका छन् । त्यहाँ उत्तीर्ण प्रतिशत ५१.४८ रहेको छ ।

त्यस्तै मानेभञ्ज्याङमा ३०३ विद्यार्थीमध्ये १५५ जना उत्तीर्ण र १४८ जना एनजी भएका छन् । मानेभञ्ज्याङको उत्तीर्ण प्रतिशत ५१.१६ मात्र रहेको छ, जुन जिल्लाकै सबैभन्दा कम रहेको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।

शिक्षा विकास तथा समन्वय एकाइ ओखलढुंगाका सूचना अधिकारी विजय कुमार यादव का अनुसार जिल्लाभर दुई हजार २६ विद्यार्थी परीक्षामा सहभागी भएकामध्ये एक हजार ५९५ जना उत्तीर्ण भएका छन् भने ४३१ जना नन–ग्रेडेड भएका छन् । जिल्लाको समग्र उत्तीर्ण प्रतिशत ७८.७२ रहेको उनले जानकारी दिए ।