किराती लोक परम्पराको धुनसँगै गुञ्जियो हिलेपानी

भिजन समाचार
0
Shares
काठमाडाैंमा बासुरी र मादलकाे माैलिक धुन प्रस्तुत गर्दै वाम्बुले कलाकारहरु।

ओखलढुंगा । हातमा बाँसुरी, ओठमा लोकभाका, मितेरीभञ्ज्याङमा किराती संस्कृतिको सुगन्ध र सबैको हातमा खीर । शुक्रबार ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ हिलेपानीस्थित मितेरीभञ्ज्याङ एक दिनका लागि मौलिक किराती संस्कृतिको जीवित सङ्ग्रहालय बन्यो ।

“किराती लोकपरम्पराको निरन्तरता” भन्ने मूल नारासहित आयोजित दशौँ बाँसुरी दिवस–२०८३ तथा खीर खाने कार्यक्रम ले आधुनिकताको प्रभावले ओझेलमा पर्दै गएको वाम्बुले राई समुदायको भाषा, बाजा, गीत र संस्कृतिको संरक्षण तथा पुस्तान्तरणको सशक्त सन्देश दिएको छ ।

मानेभञ्ज्याङ गाउँपालिकाको आर्थिक सहयोग तथा बाँसुरी दिवस कार्यक्रम आयोजक समितिको आयोजनामा, स्थानीय क्लबहरूको सहकार्यमा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दाली प्रमुख अतिथि थिए । कार्यक्रम समितिका संयोजक सुदेशकुमार राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको शुभारम्भ प्रमुख अतिथि तथा अतिथिहरूले सामूहिक रूपमा बाँसुरी बजाएर गरेका थिए । बाँसुरीका मधुर धुनले मितेरीभञ्ज्याङको वातावरण नै सांगीतिक बनाएको थियो ।

स्थानीय अग्रज बाँसुरीवादक अमृतबहादुर राई, अढमबहादुर राई, शिवश्वर राई, अगमसिंह राई, मलमकुमार राई, रामसिंह राई, ममेशबहादुर राई, अमृतबहादुर राई (शिक्षक) र क्षमाराज राईले पालैपालो बाँसुरी वादन प्रस्तुत गरे । त्यसैगरी गुमसरी राई, अश्रुपी राई, गुमनसरी राई र सुगामाया राईले बिनायो तथा गुमनसरी राईले मुर्चुङ्गाको मौलिक धुन प्रस्तुत गर्दै किराती जीवनशैली, प्रकृति र प्रेमका भावलाई संगीतमार्फत जीवन्त बनाएका थिए ।

सांस्कृतिक प्रस्तुतिसँगै भाषा र साहित्यले पनि कार्यक्रममा विशेष स्थान पायो । वाम्बुले मातृभाषी कवि मङ्गल दर्शन राईले मातृभाषामै कविता वाचन गर्दै नयाँ पुस्तालाई मातृभाषा संरक्षणतर्फ प्रेरित गरेका थिए ।

हिलेपानीकाे कार्यक्रमकाे सामुहिक तस्वीर।

कार्यक्रमको सबैभन्दा आकर्षक क्षण भने वाम्बुले मातृभाषी गायक तथा सांस्कृतिक अध्येता इन्द्र जाबा राईले आफ्नो चर्चित गीत ‘त्यावाइ ब्लेक्चाम त्वाम बामे’ प्रस्तुत गर्दा बन्यो । गीत सुरु हुनासाथ प्रमुख अतिथि, विशेष अतिथि र सहभागीहरू एकसाथ उठेर नाचेका थिए । केहीबेर हिलेपानी लोकधुन र सामूहिक नृत्यले गुञ्जायमान बनेको थियो ।

त्यसपछि वाम्बुले समुदायको मौलिक राम्दले सामूहिक रूपमा गाइएको थियो । जसमति राई, जसरति राई र अवसरमाया राईले ख्याली तथा सरुमा भाका प्रस्तुत गरे भने कार्यक्रमको समापनतर्फ बाँसुरीवादक मलमकुमार राईले गाएको सरुमा भाकाले धेरै सहभागीलाई भावुक बनाएको थियो ।

प्रमुख अतिथि गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले स्थानीय भाषा, कला, साहित्य, संस्कार र संस्कृतिको संरक्षण स्थानीय सरकारको दायित्व भएको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । मौलिक संस्कृतिको संरक्षणबिना समुदायको पहिचान जोगिन नसक्ने उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै राजनीतिकर्मी ईश्वरी ढुङ्गाना तथा गाउँपालिका उपाध्यक्ष आश्राचन राईले संस्कृति संरक्षणमा युवा पुस्ताको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै मौलिक बाजा, भाषा र परम्परालाई व्यवहारमै जोगाउनुपर्नेमा जोड दिए ।

साउन १५ को परम्परा अनुसार कार्यक्रममा सामूहिक रूपमा खीर खाने कार्यक्रम पनि आयोजना गरिएको थियो । सहभागीहरूले एकै स्थानमा बसेर खीर ग्रहण गर्दै सांस्कृतिक सद्भाव, एकता र सहअस्तित्वको सन्देश दिएका थिए ।

कार्यक्रममा प्रस्तुति दिने कलाकारहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो । सांस्कृतिक अगुवा तथा शिक्षक गगन राईका अनुसार बाँसुरी दिवस केवल सांस्कृतिक उत्सव मात्र नभई हराउँदै गएका मौलिक बाजा, भाषा, गीत र परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने अभियान हो ।

वाम्बुले राई समुदायले पुस्तौँदेखि साउन १५ देखि बाँसुरी बजाउने परम्परा जाेगाउदै आएको मानिन्छ । यही परम्पराको संरक्षण गर्ने उद्देश्यले प्रत्येक वर्ष साउन १५ मा बाँसुरी दिवस मनाउँदै आइएको छ । सोही दिन काठमाडौँमा पनि वाम्बुले राई समाजको आयोजनामा बाँसुरी दिवस भव्य रूपमा मनाइएको छ ।