किराती लोक परम्पराको धुनसँगै गुञ्जियो हिलेपानी

भिजन समाचार
भिजन समाचार
१७ श्रावण २०८३, आइतबार
किराती लोक परम्पराको धुनसँगै गुञ्जियो हिलेपानी
काठमाडाैंमा बासुरी र मादलकाे माैलिक धुन प्रस्तुत गर्दै वाम्बुले कलाकारहरु।
३ मिनेट पढाइ

ओखलढुंगा । हातमा बाँसुरी, ओठमा लोकभाका, मितेरीभञ्ज्याङमा किराती संस्कृतिको सुगन्ध र सबैको हातमा खीर । शुक्रबार ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ हिलेपानीस्थित मितेरीभञ्ज्याङ एक दिनका लागि मौलिक किराती संस्कृतिको जीवित सङ्ग्रहालय बन्यो ।

“किराती लोकपरम्पराको निरन्तरता” भन्ने मूल नारासहित आयोजित दशौँ बाँसुरी दिवस–२०८३ तथा खीर खाने कार्यक्रम ले आधुनिकताको प्रभावले ओझेलमा पर्दै गएको वाम्बुले राई समुदायको भाषा, बाजा, गीत र संस्कृतिको संरक्षण तथा पुस्तान्तरणको सशक्त सन्देश दिएको छ ।

मानेभञ्ज्याङ गाउँपालिकाको आर्थिक सहयोग तथा बाँसुरी दिवस कार्यक्रम आयोजक समितिको आयोजनामा, स्थानीय क्लबहरूको सहकार्यमा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दाली प्रमुख अतिथि थिए । कार्यक्रम समितिका संयोजक सुदेशकुमार राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको शुभारम्भ प्रमुख अतिथि तथा अतिथिहरूले सामूहिक रूपमा बाँसुरी बजाएर गरेका थिए । बाँसुरीका मधुर धुनले मितेरीभञ्ज्याङको वातावरण नै सांगीतिक बनाएको थियो ।

स्थानीय अग्रज बाँसुरीवादक अमृतबहादुर राई, अढमबहादुर राई, शिवश्वर राई, अगमसिंह राई, मलमकुमार राई, रामसिंह राई, ममेशबहादुर राई, अमृतबहादुर राई (शिक्षक) र क्षमाराज राईले पालैपालो बाँसुरी वादन प्रस्तुत गरे । त्यसैगरी गुमसरी राई, अश्रुपी राई, गुमनसरी राई र सुगामाया राईले बिनायो तथा गुमनसरी राईले मुर्चुङ्गाको मौलिक धुन प्रस्तुत गर्दै किराती जीवनशैली, प्रकृति र प्रेमका भावलाई संगीतमार्फत जीवन्त बनाएका थिए ।

सांस्कृतिक प्रस्तुतिसँगै भाषा र साहित्यले पनि कार्यक्रममा विशेष स्थान पायो । वाम्बुले मातृभाषी कवि मङ्गल दर्शन राईले मातृभाषामै कविता वाचन गर्दै नयाँ पुस्तालाई मातृभाषा संरक्षणतर्फ प्रेरित गरेका थिए ।

हिलेपानीकाे कार्यक्रमकाे सामुहिक तस्वीर।

कार्यक्रमको सबैभन्दा आकर्षक क्षण भने वाम्बुले मातृभाषी गायक तथा सांस्कृतिक अध्येता इन्द्र जाबा राईले आफ्नो चर्चित गीत ‘त्यावाइ ब्लेक्चाम त्वाम बामे’ प्रस्तुत गर्दा बन्यो । गीत सुरु हुनासाथ प्रमुख अतिथि, विशेष अतिथि र सहभागीहरू एकसाथ उठेर नाचेका थिए । केहीबेर हिलेपानी लोकधुन र सामूहिक नृत्यले गुञ्जायमान बनेको थियो ।

त्यसपछि वाम्बुले समुदायको मौलिक राम्दले सामूहिक रूपमा गाइएको थियो । जसमति राई, जसरति राई र अवसरमाया राईले ख्याली तथा सरुमा भाका प्रस्तुत गरे भने कार्यक्रमको समापनतर्फ बाँसुरीवादक मलमकुमार राईले गाएको सरुमा भाकाले धेरै सहभागीलाई भावुक बनाएको थियो ।

प्रमुख अतिथि गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले स्थानीय भाषा, कला, साहित्य, संस्कार र संस्कृतिको संरक्षण स्थानीय सरकारको दायित्व भएको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । मौलिक संस्कृतिको संरक्षणबिना समुदायको पहिचान जोगिन नसक्ने उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै राजनीतिकर्मी ईश्वरी ढुङ्गाना तथा गाउँपालिका उपाध्यक्ष आश्राचन राईले संस्कृति संरक्षणमा युवा पुस्ताको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै मौलिक बाजा, भाषा र परम्परालाई व्यवहारमै जोगाउनुपर्नेमा जोड दिए ।

साउन १५ को परम्परा अनुसार कार्यक्रममा सामूहिक रूपमा खीर खाने कार्यक्रम पनि आयोजना गरिएको थियो । सहभागीहरूले एकै स्थानमा बसेर खीर ग्रहण गर्दै सांस्कृतिक सद्भाव, एकता र सहअस्तित्वको सन्देश दिएका थिए ।

कार्यक्रममा प्रस्तुति दिने कलाकारहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो । सांस्कृतिक अगुवा तथा शिक्षक गगन राईका अनुसार बाँसुरी दिवस केवल सांस्कृतिक उत्सव मात्र नभई हराउँदै गएका मौलिक बाजा, भाषा, गीत र परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने अभियान हो ।

वाम्बुले राई समुदायले पुस्तौँदेखि साउन १५ देखि बाँसुरी बजाउने परम्परा जाेगाउदै आएको मानिन्छ । यही परम्पराको संरक्षण गर्ने उद्देश्यले प्रत्येक वर्ष साउन १५ मा बाँसुरी दिवस मनाउँदै आइएको छ । सोही दिन काठमाडौँमा पनि वाम्बुले राई समाजको आयोजनामा बाँसुरी दिवस भव्य रूपमा मनाइएको छ ।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिन्छ।

१ ओखलढुंगामा सार्वजनिक यातायातको भाडादर निर्धारण, कहाँकाे कति ? ओखलढुंगामा सार्वजनिक यातायातको भाडादर निर्धारण, कहाँकाे कति ? ओखलढुंगा । ओखलढुंगामा सार्वजनिक यातायात सेवालाई व्यवस्थित बनाउन विभिन्न गन्तव्यको भाडादर निर्धारण गरिएको छ ।जिल्ला प्रशासन कार्यालयमा प्रमुख... २ व्याकुल माइला गोल्डकपको दसौँ संस्करण सुरु व्याकुल माइला गोल्डकपको दसौँ संस्करण सुरु ओखलढुंगा । राष्ट्रिय गानका सर्जक प्रदीपकुमार राई ‘व्याकुल माइला’को सम्मानमा आयोजना हुँदै आएको व्याकुल माइला गोल्डकप फुटबल प्रतियोगिताको... ३ मोलुङ १ का निवर्तमान वडाअध्यक्ष कमल बानियाँ जजक आरोपमा पक्राउ ओखलढुंगाको मोलुङ गाउँपालिका १ कुन्तादेवीका निवर्तमान वडाअध्यक्ष कमल बहादुर बानियाँ जवरजस्ती करणी आरोपमा पक्राउ परेका छन् । नाबालिक... ४ पोकली झरनामा युवाले राखे सचेतना बोर्डः सहजता, सुरक्षा र मार्गनिर्देशनमा जोड पोकली झरनामा युवाले राखे सचेतना बोर्डः सहजता, सुरक्षा र मार्गनिर्देशनमा जोड ओखलढुंगाको पर्यटकीय गन्तव्य पोकली झरना क्षेत्रमा स्थानीय युवाले विभिन्न स्थानमा सचेतना बोर्ड राखेका छन् । पर्यटकको सहजता, सुरक्षा... ५ ओखलढुंगा प्रशासनमा अभद्र व्यवहारका सात मुद्दा दर्ता ओखलढुंगा प्रशासनमा अभद्र व्यवहारका सात मुद्दा दर्ता जिल्ला प्रशासन कार्यालय ओखलढुंगामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा अभद्र व्यवहारसम्बन्धी सात वटा मुद्दा दर्ता भएका छन्... ६ ईभीको मनलाग्दी भाडा असुलीमा  ट्राफिकको नजर: १० यात्रुले पाए रकम फिर्ता ईभीको मनलाग्दी भाडा असुलीमा ट्राफिकको नजर: १० यात्रुले पाए रकम फिर्ता ओखलढुंगाबाट काठमाडौं जाने ईभी गाडीले तोकिएकोभन्दा बढी भाडा असुलेपछि प्रहरीले यात्रुलाई रकम फिर्ता गराएको छ । एक हजार...