ओखलढुंगा । उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुंगामा तीन वर्ष सेवा गरेका रजिष्ट्रार विष्णुप्रसाद पाण्डेयको सर्वोच्च अदालतमा सरुवा भएको छ । पाण्डेयलाई मंगलबार उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुंगा परिवारले कदरपत्र सहित सम्मान गर्दै बिदाइ गरेको हो ।
ओखलढुंगामा रहँदा पाण्डेयले अदालतको सेवा प्रवाहलाई नागरिकमैत्री र प्रविधिमैत्री बनाउन विभिन्न सुधारका काम अघि बढाएका थिए । अदालतका अनुसार उनको कार्यकालमा अभिलेख डिजिटाइजेसनअन्तर्गत मिसिल स्क्यान गरी विद्युतीय प्रणालीमा राख्ने, अदालतमा कोर्टरुम प्रविधिको प्रयोग गर्ने तथा टाइम कार्ड प्रणाली लागू गर्ने काम भएको थियो ।
त्यस्तै, सेवाग्राहीलाई अदालतका सेवा तथा प्रक्रियाबारे सहज जानकारी उपलब्ध गराउन जानकारी पुस्तिका वितरण र मुद्दाको अवस्थाबारे एसएमएस मार्फत जानकारी दिने प्रणाली समेत सुरु गरिएको थियो ।
सेवाग्राहीको सहजताका लागि मातृभाषा समेत समेटिएको वडापत्रको व्यवस्था गरिएको थियो । यी सुधारले अदालतको सेवा प्रवाहलाई थप व्यवस्थित, पारदर्शी तथा सेवाग्राहीमैत्री बनाउन सहयोग पुगेको अदालतले जनाएको छ ।
बिदाइ कार्यक्रममा पाण्डेयले ओखलढुंगामा सेवा गर्ने क्रममा सहयोग गर्ने न्यायाधीश, कर्मचारी तथा सेवाग्राहीप्रति आभार व्यक्त गरेका थिए ।
पाण्डेयको सर्वोच्च अदालतमा सरुवा भएपछि उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुंगाको नयाँ रजिष्ट्रारका रूपमा सर्वोच्च अदालतबाट नवराज दंगाल आएका छन् ।

प्रतिक्रिया