कांग्रेस १५औँ महाधिवेशन : ओखलढुंगाबाट ३३ केन्द्रीय महाधिवेशन प्रतिनिधीको टुंगो लाग्यो

भिजन समाचार
152
Shares

ओखलढुंगा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ओखलढुंगाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिको टुंगो लागेको छ । बिहीबार राति मतगणना सम्पन्न भएसँगै विभिन्न समावेशी समूहबाट प्रतिनिधित्व गर्ने ३३ जना महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।

केन्द्रीय महाधिवेशन प्रतिनिधि खुलातर्फ १० जना निर्वाचित भएका छन् । खुलातर्फ अजय लुईटेल, उज्जन बुढाथोकी, कमल तामाङ, कुमार लुईटेल, तेजन खनाल, नवराज केसी, नवीन राई, प्रदीपकुमार सुनुवार, रामहरि खतिवडा र रुद्रप्रसाद अधिकारी विजयी भएका छन् । खुलातर्फ १० पदका लागि २२ जनाबीच प्रतिस्पर्धा भएको थियो ।

महिला खुलातर्फ ४ पदका लागि ८ जनाबीच प्रतिस्पर्धा भएकोमा बाला अधिकारी, विन्दा बोगटी, सुशीला तामाङ र सुनिता अधिकारी निर्वाचित भएका छन् ।

त्यसैगरी श्रमिकतर्फ खिलानाथ दाहाल, पेसागत तथा विषय विज्ञतर्फ राजकुमार ढुंगाना, ३५ वर्षमुनिका युवा महिलातर्फ यसोदा कार्की, तथा ३५ वर्षमुनिका युवा पुरुषतर्फ रोशन महतरा र हरिचन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।

अपांगता समूहबाट गोपालमान थापा, अल्पसंख्यकतर्फ रामकुमार सुनुवार तथा दलिततर्फ होमबहादुर विक (होम भाइ) र कमलबहादुर विक निर्वाचित भएका छन् । प्रजातन्त्र सेनानी, सहिद परिवार तथा द्वन्द्वपीडिततर्फ बालकृष्ण दाहाल विजयी भएका छन् ।

आदिवासी जनजाति खुलातर्फ ३ पदका लागि ९ जनाबीच भएको प्रतिस्पर्धाबाट प्रविण राई, बुद्धबहादुर तामाङ र ज्ञानेन्द्र रुम्दाली निर्वाचित भएका छन् । यस्तै, आदिवासी जनजाति महिलातर्फ ३ पदका लागि ६ जनाबीच भएको निर्वाचनमा चन्द्रकला तामाङ, पुतलीमाया राई र संगिता तामाङ विजयी भएका छन् ।

खस आर्य महिलातर्फ लालकुमारी धमला तथा खस आर्य पुरुषतर्फ गोविन्द पौडेल र हरिप्रसाद दाहाल निर्वाचित भएका छन् ।

निर्वाचन परिणाम अनुसार खुलातर्फ सबैभन्दा बढी मत कुमार लुईटेलले १ हजार १०९ प्राप्त गरेका छन् । रामहरि खतिवडा १ हजार मतसहित दोस्रो धेरै मत प्राप्त गर्ने उम्मेदवार बनेका छन् ।

लुईटेल नेपाली कांग्रेसभित्र गगन थापा निकट नेताका रूपमा चिनिन्छन् । उनी २०८२ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ओखलढुंगाबाट उम्मेदवार बनेका थिए । उक्त निर्वाचनमा उनी पाँच मतको अन्तरले पराजित भएका थिए ।

ओखलढुंगामा महाधिवेशन प्रतिनिधि चयनसँगै कांग्रेसको १५औँ महाधिवेशनका लागि जिल्लाबाट प्रतिनिधित्व गर्ने नेताहरूको संरचना टुंगिएको हो । कांग्रेसको आधिकारिक निर्वाचन कार्यतालिका अनुसार प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन गर्ने कार्यक्रम राखिएको थियो ।

यससँगै निर्वाचन म‌‍ण्डलका अनुसार ओखलढुंगा प्रदेश (क) तर्फ विनोद केसी र प्रदेश (ख)मा इन्द्र केसी सभापतिमा विजयी भएका छन् ।

नेपाली कांग्रेसले १५औँ महाधिवेशनको उद्घाटन २०८३ असोज १८ गते काठमाडौंको खुलामञ्चमा गर्ने जनाएको छ । यसअघि असोज १६ गतेदेखि महाधिवेशन गर्ने कार्यतालिका रहे पनि केही क्षेत्रमा अधिवेशन प्रक्रिया प्रभावित भएपछि उद्घाटन मिति असोज १८ गते सारिएको कांग्रेसले जनाएको छ ।