ओखलढुंगामा सुकिला नोट साट्न सुरु

भिजन समाचार
0
Shares

ओखलढुंगा । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड ओखलढुंगा शाखाले दशैँलाई लक्षित गर्दै सुकिला नोट सटही सेवा सुरु गरेको छ । बैंकले सोमबारदेखि सर्वसाधारणका लागि सुकिला नोट सटही सेवा सञ्चालनमा ल्याएको हो ।

राष्ट्रिय वाणिज्य बैंक ओखलढुंगा शाखाका शाखा प्रबन्धक महेश मण्डलका अनुसार यस वर्ष एक जना सेवाग्राहीले अधिकतम १८ हजार रुपैयाँसम्म सुकिला नोट सटही गर्न पाउने व्यवस्था गरिएको छ । सटही सेवाअन्तर्गत एक सय, ५०, २०, १० र पाँच रुपैयाँ दरका नोटको एक–एक सेट उपलब्ध गराइनेछ ।

बैंकका अनुसार फूलपातीको अघिल्लो दिन अर्थात् असोज ३० गतेसम्म सुकिला नोट सटही सेवा निरन्तर सञ्चालन हुनेछ । दशैँका बेला दक्षिणा तथा टीकाका लागि नयाँ तथा सुकिला नोटको माग बढ्ने भएकाले बैंकले सर्वसाधारणको सुविधाका लागि सटही सेवा सुरु गरेको हो ।

सुकिला नोट सटही सेवा सुरु भएसँगै राष्ट्रिय वाणिज्य बैंक ओखलढुंगा शाखामा सेवाग्राहीको चापसमेत बढेको छ । दशैँ नजिकिँदै जाँदा नोट सटहीका लागि आउने सेवाग्राहीको संख्या अझ बढ्ने बैंकले जनाएको छ ।

बैंकले सुकिला नोटको जतनपूर्वक प्रयोग गर्न र नोटमा केरमेट नगर्न, नच्यात्न तथा अनावश्यक रूपमा नष्ट नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।