ओखलढुंगा । ओखलढुंगा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्ला हो । कांग्रेसको संशोधित व्यवस्था अनुसार ३३ जना महाधिवेशन प्रतिनिधि चयन हुनेछन् । केन्द्रीय महाधिवेशन प्रतिनिधिकाे ३३ पदका लागि जिल्लामा ७७ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
यसअनुसार औसतमा एक पदका लागि २ दशमलव ३३ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यद्यपि खुला, महिला, दलित, आदिवासी जनजाति, खसआर्य, युवा, पेशागत तथा विषय विज्ञ, अपाङ्गता र अन्य समावेशी समूहका लागि छुट्टाछुट्टै प्रतिनिधित्वको व्यवस्था भएकाले सबै समूहमा प्रतिस्पर्धाको अनुपात समान छैन ।
जिल्ला निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको नामावली अनुसार खुलातर्फ १६ जना, महिलातर्फ ८ जना र आदिवासी जनजाति खुलातर्फ १५ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यस्तै पेशागत तथा विषय विज्ञतर्फ ५ जना, युवा महिलातर्फ २ जना, युवा खुलातर्फ ४ जना र श्रमिकतर्फ ३ जनाको उम्मेदवारी परेको छ ।
त्यसैगरी दलित, खसआर्य, अल्पसंख्यक, अपाङ्गता, प्रजातन्त्र सेनानी, शहीद परिवार तथा द्वन्द्व प्रभावित लगायत समावेशी समूहमा पनि उम्मेदवारी परेको छ ।
उम्मेदवारको संख्याले ओखलढुंगामा कांग्रेस महाधिवेशन प्रतिनिधि चयनमा खुला प्रतिस्पर्धासँगै समावेशी समूहमा समेत प्रतिस्पर्धा तीव्र देखिएको छ । विशेषगरी आदिवासी जनजाति खुला समूहमा १५ जना उम्मेदवार रहेकाले सो समूहमा प्रतिनिधि छनोटका लागि उल्लेख्य प्रतिस्पर्धा देखिएको छ । खुला र महिला समूहमा पनि उम्मेदवारको संख्या बढी छ ।
पालिका अधिवेशनपछि महाधिवेशन प्रतिनिधि चयनलाई कांग्रेस ओखलढुंगा भित्रको अर्को महत्वपूर्ण निर्वाचनका रूपमा हेरिएको छ । जिल्लाका अधिकांश पालिकामा नेतृत्व सर्वसम्मत चयन भए पनि मानेभञ्ज्याङ गाउँपालिकामा भने मतदानमार्फत नेतृत्व चयन भएको थियो ।
महाधिवेशन प्रतिनिधि चयनमा विभिन्न समूहबाट उम्मेदवार मैदानमा रहेकाले निर्वाचन परिणाममा व्यक्तिगत समर्थन, संगठनभित्रको प्रभाव र समूहगत समीकरण समेत प्रभावकारी बन्न सक्ने देखिएको छ । यद्यपि यसको वास्तविक परिणाम भने मतगणना सकिएपछि मात्रै स्पष्ट हुनेछ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत ओखलढुंगामा संघीय तथा प्रदेश महाधिवेशन प्रतिनिधि चयनका लागि भएको मतदानको गणना जारी छ ।
मंगलबार भएको मतदानमा जिल्लाका कुल १ हजार ८ सय ५१ क्षेत्रीय प्रतिनिधिमध्ये १ हजार ७ सय ४९ जनाले मतदान गरेका छन् । बुधबार मतगणना भइरहेको हो ।
कांग्रेसको निर्वाचन कार्यतालिका अनुसार १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका छ । ओखलढुंगाबाट चयन हुने ३३ महाधिवेशन प्रतिनिधिले त्यसमा जिल्लाको प्रतिनिधित्व गर्नेछन् ।

प्रतिक्रिया