कांग्रेसको सदस्यता अध्यावधिक अभियान तीव्र

भिजन समाचार
98
Shares

ओखलढुंगा । नेपाली कांग्रेसले मानेभञ्ज्याङ गाउँपालिका–६ मा क्रियाशील सदस्यता अध्यावधिक तथा नयाँ सदस्यता वितरण अभियानलाई तीव्र बनाएको छ । पार्टी संगठनलाई गाउँस्तरसम्म सक्रिय बनाउने उद्देश्य सहित आजदेखि टोल–टोलमा भेला आयोजना गरेर अभियान सुरु गरिएको हो ।

जिल्ला कार्य समिति सदस्य हुकुम राईका अनुसार अभियान अन्तर्गत साविक थाक्ले–१ को आरुबोटमा आयोजित पहिलो टोल भेलाबाट ७१ जनाले क्रियाशील सदस्यता अध्यावधिक गरेका छन् भने ३१ जना नयाँ सदस्य पार्टीमा आबद्ध भएका छन् ।

उनले पार्टी संगठन सुदृढीकरण, सदस्यता विस्तार तथा कार्यकर्तालाई पार्टी गतिविधिमा थप सक्रिय र जिम्मेवार बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको बताए । टोल–टोलमा पुगेर सदस्यता अध्यावधिक तथा नयाँ सदस्यता वितरणलाई प्रभावकारी बनाइने र संगठनलाई जनतामुखी ढंगले अघि बढाइने उनको भनाइ छ ।

अभियानलाई साविक वडा नम्बर २, ३, ४, ५, ६, ७, ८ र ९ का विभिन्न बस्तीमा विस्तार गर्ने तयारी गरिएको जनाइएको छ । स्थानीय तहसम्म संगठनलाई पुनः सक्रिय र सुदृढ बनाउने लक्ष्यसहित अभियान सञ्चालन गरिएको कांग्रेसले जनाएको छ ।

गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि कमजोर बनेको स्थानीय संगठनलाई पुनः व्यवस्थित र चलायमान बनाउन सदस्यता अध्यावधिक अभियान प्रभावकारी हुने विश्वास गरिएको छ ।