ओखलढुंगा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ओखलढुंगा जिल्ला कार्य समितिले पहिलो जिल्ला अधिवेशनलाई संगठन सुदृढीकरण र स्थानीय राजनीतिक उपस्थितिको परीक्षणका रूपमा अघि बढाउने भएको छ । जेठ २३ गते हुने अधिवेशनमार्फत पार्टीले जिल्लामा औपचारिक संरचना मजबुत बनाउँदै नयाँ नेतृत्व चयन र कार्यदिशा तय गर्ने तयारी गरेको हो ।
पार्टी सचिव कुमार चौलागाईका अनुसार अधिवेशन केवल औपचारिक कार्यक्रम नभई स्थानीय तहमा संगठन विस्तारको रणनीतिक चरण हो । अधिवेशनले कार्यसमिति पुनर्गठनसँगै आगामी निर्वाचन केन्द्रित योजना र जनस्तरमा पहुँच विस्तारका विषयमा मार्गनिर्देशन गर्नेछ ।
कार्यक्रममा संघीय सांसद विश्वराज पोखरेल सहित केन्द्र र प्रदेशस्तरका नेताको सहभागिता रहने जनाइएको छ । जिल्ला सभापति कृष्णबहादुर थापाले अधिवेशनलाई “संगठन विस्तारको ऐतिहासिक अवसर” भन्दै कार्यकर्ता परिचालनलाई तीव्र बनाइएको जानकारी दिए ।
ओखलढुंगामा नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले यस अधिवेशनमार्फत युवा तथा नयाँ मतदातालाई आकर्षित गर्ने र परम्परागत दलसँगको प्रतिस्पर्धामा आफ्नो उपस्थिति मजबुत बनाउने रणनीति लिएको छ ।

प्रतिक्रिया