ओखलढुंगा । नेपाली कांग्रेस ओखलढुंगाका पुराना नेता भुपेन्द्र बस्नेतले पार्टीको साधारण सदस्यता सहित सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरिएको उनको निर्णयपछि जिल्लाको स्थानीय राजनीतिमा नयाँ तरंग सिर्जना भएको छ ।
करिब ३६ वर्षदेखि कांग्रेस राजनीतिमा सक्रिय बस्नेतले जनआन्दोलन २०४६ देखि हालसम्म भएका लोकतान्त्रिक तथा प्रजातान्त्रिक आन्दोलनमा आफू निरन्तर सहभागी हुँदै आएको उल्लेख गरेका छन् । उनले पार्टीभित्र विभिन्न तहमा रहेर जिम्मेवारी निर्वाह गरेको स्मरण गर्दै अब भने कुनै पनि जिम्मेवारीमा रहेर काम गर्न असमर्थ भएको बताएका छन् ।
बस्नेत नेपाल तरुण दल ओखलढुंगाका पूर्व अध्यक्ष, नेपाली काँग्रेस जिल्ला सदस्य तथा संगठन विभाग प्रमुखको जिम्मेवारी सम्हालिसकेका नेता हुन् । फेसबुक स्टाटसमार्फत उनले “पार्टीका सबै जिम्मेवारी तथा पार्टीको सदस्यता समेत परित्याग गरेको व्यहोरा सबैमा अवगत गराउँदछु,” भन्दै औपचारिक रूपमा पार्टी त्यागको घोषणा गरेका हुन् ।
उनले पार्टीमा रहँदा साथ, सहयोग र समर्थन गर्ने साथीहरू तथा अग्रजप्रति आभार व्यक्त गरेका छन् ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा खिजिदेम्बा गाउँपालिकाको अध्यक्ष पदका लागि नेपाली काँग्रेसबाट उम्मेदवार बनेका बस्नेत जनता समाजवादी पार्टीका गम्बु शेर्पासँग झिनो मत अन्तरले पराजित भएका थिए ।
लामो समय कांग्रेस राजनीतिमा सक्रिय रहेका नेताले सार्वजनिक रूपमा पार्टी छोड्ने निर्णय गरेपछि कांग्रेसभित्र बढ्दो असन्तुष्टि, आन्तरिक व्यवस्थापन र पुराना कार्यकर्तामा देखिएको निराशाबारे समेत चर्चा सुरु भएको छ । बस्नेतको आगामी राजनीतिक कदम के हुने भन्ने उनले खुलाएका छैनन् ।

प्रतिक्रिया