ओखलढुंगामा एमालेको ‘मिसन पार्टी जागरण अभियान’

भिजन समाचार
100
Shares

ओखलढुंगा । नेकपा (एमाले) ओखलढुंगा जिल्ला कमिटीले पार्टी संगठन पुनः सक्रिय बनाउने उद्देश्यसहित ‘मिसन पार्टी जागरण अभियान’ सुरु गरेको छ । आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै पार्टीले संगठन सुदृढीकरण, पुनर्गठन, सदस्यता विस्तार तथा जनसम्पर्कलाई केन्द्रमा राखेर अभियान अघि बढाएको जनाएको छ ।

एमालेको केन्द्रीय कमिटीको अन्तरपार्टी निर्देशन (अपानी) अनुसार सञ्चालन गरिएको अभियानका लागि जिल्ला इन्चार्जमा एमाले केन्द्रीय सदस्य यज्ञराज सुनुवार र सदस्यमा केन्द्रीय सदस्य अस्मिता थापालाई जिम्मेवारी दिइएको छ । जिल्ला अध्यक्ष हर्कबोल राईका अनुसार अहिले प्रारम्भिक तयारीका कार्यक्रम सञ्चालन भइरहेका छन् । जेठ १९ र २० गते प्रदेश कमिटी तथा जेठ २० र २१ गते बस्ने केन्द्रीय कमिटी बैठकपछि अभियानको विस्तृत कार्ययोजना सार्वजनिक गरिने उनले बताए ।

उनका अनुसार अभियानलाई पालिका, वडा हुँदै गाउँ तहसम्म विस्तार गरिनेछ । सदस्यता नवीकरण, नयाँ सदस्य भर्ना, निष्क्रिय संगठनलाई पुनः चलायमान बनाउने तथा जनस्तरसम्म पार्टी गतिविधि पुर्‍याउने योजना एमालेले अघि सारेको छ ।

तर यो अभियान केवल नियमित संगठनात्मक कार्यक्रम मात्र नभई पछिल्ला वर्षमा कमजोर बनेको जिल्ला संगठनलाई पुनर्जीवित गर्ने प्रयासका रूपमा पनि हेरिएको छ । ओखलढुंगामा एमालेले लामो समयदेखि प्रभाव जमाउँदै आएको भए पनि प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार चयनको विषयले पार्टीभित्र गम्भीर विवाद सिर्जना भई छिन्नभिन्न बनाएको थियो ।

विशेषगरी २१ फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिसको विषयले जिल्ला संगठन विभाजित बनेको थियो । जिल्ला कमिटीको सिफारिसमै नपरेकी अस्मिता थापाले टिकट पाएपछि जिल्लाका अधिकांश नेताहरू असन्तुष्ट बनेका थिए ।

त्यसपछि पार्टीभित्रको असन्तुष्टि खुला विद्रोहमा परिणत भयो । एमाले ओखलढुंगाका तत्कालीन अध्यक्ष ज्ञानबहादुर खड्का, उपाध्यक्ष कमलप्रसाद न्यौपाने, सचिव अशोक थापा, उपसचिव राजिव कटुवाल, प्रदेश कमिटी सदस्य सुरेश थापा, जगत लुइँटेल, युवा संघका केन्द्रीय सदस्य प्रचण्ड खड्का लगायत तीन दर्जन नेता नेकपामा प्रवेश गरेका थिए ।

सोही क्रममा एमालेका प्रभावशाली नेता अम्बिरबाबु गुरुङलाई नेकपाले आफ्नो उम्मेदवार बनाएपछि उनले पनि पार्टी परित्याग गरेका थिए । त्यसयता एमालेको जिल्ला संगठन कमजोर बनेको विश्लेषण हुँदै आएको छ ।

अहिले एमालेले थालेको ‘मिसन पार्टी जागरण अभियान’ को मुख्य उद्देश्य गुमेको संगठनात्मक आधार पुनः निर्माण गर्नु हो । नेतृत्व तहमा देखिएको विभाजन, कार्यकर्ताको असन्तुष्टि र निर्वाचनमा देखिएको कमजोर नतिजाले एमालेको पुरानो जनाधार प्रभावित भएको आकलन गरिएको छ ।