कांग्रेसबाट टाढिएका वडाअध्यक्ष उमंग श्रेष्ठ अब कता ?

भिजन समाचार
1.9k
Shares
तस्वीर-उमंग श्रेष्ठ

ओखलढुंगा । नेपाली कांग्रेस परित्यागको घोषणा गरेका सिद्धिचरण नगरपालिका–१२ का वडाअध्यक्ष उमंग श्रेष्ठको आगामी राजनीतिक यात्राबारे जिल्लामा चर्चा सुरु भएको छ । विशेषगरी उनी नयाँ राजनीतिक दलमार्फत सक्रिय राजनीतिमा फर्किन सक्ने अनुमान गरिएको छ ।

श्रेष्ठले गत वर्ष भदौ २३ गते सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली कांग्रेस परित्यागको घोषणा गरेका थिए । जेन्जी आन्दोलनका क्रममा सरकारले बल प्रयोग गरेको भन्दै उनले सार्वजनिक रूपमा असन्तुष्टि जनाएका थिए । आन्दोलनका क्रममा “निर्दोष बालबालिकाको हत्या भएको” आरोप लगाउँदै उनले तत्कालीन सरकारको आलोचना गरेका थिए । उक्त समयमा नेपाली कांग्रेस संघीय सरकारमा सहभागी थियो ।

पार्टी परित्यागको घोषणा गरेपछि श्रेष्ठ कांग्रेसका गतिविधिमा निष्क्रिय देखिएका छन् । हालसम्म उनले पुनः कांग्रेसमा फर्किएको घोषणा गरेका छैनन् भने अन्य कुनै राजनीतिक दलमा औपचारिक रूपमा प्रवेश गरेको जानकारी पनि सार्वजनिक भएको छैन ।

यद्यपि राजनीतिक वृत्तमा भने श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मार्फत आगामी राजनीतिक यात्रा अघि बढाउने तयारीमा रहेको चर्चा चलिरहेको छ । तर, यस विषयमा उनले भने हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन् ।

गत फागुनमा सम्पन्न संघीय निर्वाचनमा समेत श्रेष्ठ कांग्रेसको पक्षमा खुलेर सक्रिय नभएको चर्चा स्थानीय स्तरमा थियो । उक्त निर्वाचनमा कांग्रेसका उम्मेदवार कुमार लुईटेल र रास्वपाका उम्मेदवार विश्वराज पोखरेलबीच कडा प्रतिस्पर्धा भएको थियो । सो निर्वाचनमा पोखरेलसँग लुईटेल पाँच मतले पराजित भएका थिए ।

श्रेष्ठ २०७४ सालको स्थानीय तह निर्वाचनमा वडाअध्यक्षमा पराजित भएका थिए । त्यसपछि २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट वडाअध्यक्षमा निर्वाचित भएका हुन् ।

पछिल्लो समय औपचारिक राजनीतिक गतिविधिभन्दा सामाजिक तथा सार्वजनिक कार्यक्रममा सक्रिय देखिएका श्रेष्ठले आगामी दिनमा कुन दलबाट राजनीतिक यात्रा अघि बढाउँछन् भन्ने विषयलाई लिएर स्थानीय स्तरमा चासो बढ्दै गएको छ ।