सञ्चार क्षेत्र सुदृढ बनाउन प्रदेश सरकार प्रतिबद्ध : मन्त्री पराजुली


ओखलढुंगा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराजुलीले सञ्चार क्षेत्रको सुदृढीकरण र रेडियोको संरक्षणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

ओखलढुंगामा मंगलबार देखि सुरु भएको रेडियो विकास तथा तर्जुमा प्रदेशस्तरीय तालिम तथा अन्तरक्रिया कार्यक्रम उद्घाटन गर्दै मन्त्री पराजुलीले सञ्चार माध्यम, विशेषगरी रेडियोको प्रवर्द्धनका लागि आवश्यक ऐन निर्माणसँगै बजेट व्यवस्थापनमा पनि प्रदेश सरकारले प्राथमिकता दिएको बताए ।

उनले प्रदेश सरकारले ल्याएको “कोशी प्रदेश आम सञ्चार ऐन–२०८२” कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्दै बदलिँदो प्रविधिसँगै रेडियो क्षेत्रलाई पनि आधुनिक, व्यावसायिक र प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकता औंल्याए ।

“ग्रामीण भेगसम्म सूचना, शिक्षा र जनचेतना पुर्‍याउन सामुदायिक रेडियोको भूमिका अझै महत्वपूर्ण छ,” मन्त्री पराजुलीले भने, “यस क्षेत्रलाई थप व्यवस्थित, प्रभावकारी र दिगो बनाउन प्रदेश सरकारले नीतिगत तथा व्यावहारिक सहयोगलाई निरन्तरता दिन्छ ।”

कार्यक्रम सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) कोशी प्रदेश समितिको सहकार्य तथा कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा सुरु भएको हो । कार्यक्रममा कोशी प्रदेशका १४ जिल्लाबाट ४४ वटा सामुदायिक एवम् व्यवसायिक रेडियोका प्रतिनिधिहरू सहभागी छन् ।

तालिम तथा छलफल कार्यक्रममा रेडियो क्षेत्रको विकास, प्रभावकारिता अभिवृद्धि, डिजिटल प्रसारण, सामग्री उत्पादन, सञ्चारको बदलिँदो प्रविधि तथा सामुदायिक रेडियोको दिगोपना लगायत विषयमा छलफल भइरहेको आयोजकले जनाएको छ ।

अकोराबका प्रदेश अध्यक्ष टेक बहादुर खड्काका अनुसार कार्यक्रम विहिबारसम्म सञ्चालन हुनेछ ।