रास्वपाबाट स्थानिय तह उम्मेदवार बन्न आवश्यक मापदण्ड

भिजन समाचार
102
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार बन्न क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमी उत्तीर्ण अनिवार्य गर्ने मापदण्ड अघि सारेको छ ।

पार्टी सहमहामन्त्री विपिनकुमार आचार्य नेतृत्वको कार्यदलले तयार पारेको मस्यौदाअनुसार उम्मेदवार बन्न २१ वर्ष उमेर पूरा भई सम्बन्धित स्थानीय तहको मतदाता नामावलीमा नाम हुनुपर्नेछ । साथै, पार्टीको विधान, सुशासन, पारदर्शिता र नागरिक उत्तरदायित्वप्रति स्पष्ट वैचारिक प्रतिबद्धता आवश्यक रहनेछ ।

रास्वपाले उम्मेदवार बन्नुअघि अन्य दलको सदस्यता त्याग गरेको हुनुपर्ने, कार्यसम्पादन मूल्यांकन प्रणालीमा सहभागी हुन तयार रहनुपर्ने तथा आवश्यक कागजात—सम्पत्ति विवरण र प्रहरी चारित्रिक प्रमाणपत्र—पेस गर्नुपर्ने व्यवस्था गरेको छ ।

यस्तै, शैक्षिक प्रमाणपत्रको प्रमाणीकरण, वैवाहिक अवस्थाको कानुनी स्पष्टता, घरेलु हिंसा वा डिजिटल दुव्र्यवहारमा संलग्न नरहेको स्वघोषणा पनि अनिवार्य गरिएको छ । अवैध आर्थिक कारोबारमा संलग्न नभएको, स्वार्थ बाझिने अवस्था नभएको तथा कुनै गम्भीर मुद्दा विचाराधीन नरहेको विवरण खुलाउनुपर्ने मस्यौदामा उल्लेख छ ।

रास्वपाले यसपटक उम्मेदवार छनोटलाई व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउने लक्ष्यसहित कडा मापदण्ड लागू गर्न लागेको जनाएको छ ।