आगलागी पीडितलाई नेता खतिवडाको आर्थिक सहयोग

भिजन समाचार
278
Shares

ओखलढुंगा । सिद्धिचरण नगरपालिका–२ ठुलाछापका आगलागी पीडित परिवारलाईल पुर्व सांसद तथा नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले आर्थिक तथा सामग्री सहयोग गरेका छन् ।

केही दिनअघि ठुलाछापका बुद्धि आचार्यको घरमा भएको आगलागीबाट घरसहित भित्र रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको थियो । पीडित परिवारलाई नेता खतिवडाले १० हजार रुपैयाँ नगद र केही थान ओढ्ने कपडा हस्तान्तरण गरेका हुन् ।

सहयोग हस्तान्तरण गर्दै उनले विपद्को समयमा सबैले एकअर्कालाई साथ दिनुपर्ने आवश्यकता औंल्याए । उनले स्थानीय तह, संघ–संस्था तथा सरोकारवालाहरूलाई पीडित परिवारको राहत तथा पुनःस्थापनामा सक्रिय भूमिका खेल्न आग्रह समेत गरे ।

नेता खतिवडाले आगलागी जस्ता विपद्का घटनाबाट हुने क्षति न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि, सुरक्षा सतर्कता र पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

स्थानीयवासीले विपद्को बेला गरिएको सहयोगप्रति आभार व्यक्त गर्दै अन्य निकायलाई पनि पीडित परिवारको सहयोगमा जुट्न अपिल गरेका छन् ।