काठमाडाैँ । गृहमन्त्री सुधन गुरुङले काभ्रेपलाञ्चोकको रोशी क्षेत्रको स्थलगत अनुगमन गर्दै मापदण्डविपरीत सञ्चालन भइरहेका अवैध क्रसर उद्योग तत्काल बन्द गर्न निर्देशन दिएका छन् ।
गत वर्षको बाढीपहिरोबाट क्षतिग्रस्त बीपी राजमार्ग अन्तर्गतको क्षेत्र अवलोकन गर्न पनौती पुगेका मन्त्री गुरुङले देखिएको क्षति केवल प्राकृतिक नभई मानवीय हस्तक्षेपका कारण जटिल बनेको बताएका छन् ।
उनले गिटी–बालुवाको अवैध उत्खननले नदी प्रणाली कमजोर बनाउँदै बाढीपहिरोको जोखिम बढाएको निष्कर्ष निकाल्दै अब कडाइका साथ नियन्त्रण गरिने स्पष्ट पारे । “मापदण्ड विपरीत सञ्चालन भएका सबै क्रसर तत्काल बन्द गरिन्छन्,” उनले भने ।
गुरुङले विगतमा ठेक्का पट्टामा विभिन्न दल सँगकाे ‘सेटिङ’का आधारमा अवैध उत्खनन हुँदै आएको आरोप समेत लगाए । अब वैध तथा अवैध दुवै गतिविधिको छानबिन गरी दोषीमाथि कडा कारबाही गरिने चेतावनी दिएका छन् ।
गत वर्ष पनौती क्षेत्रमा आएको बाढीपहिरोमा २० जनाको ज्यान गएको थियो भने एक जना अझै बेपत्ता छन् । सयौं घरमा क्षति पुगेको उक्त विपद्ले पूर्वतयारी र दीगो व्यवस्थापनको अभाव कति महँगो पर्न सक्छ भन्ने स्पष्ट पारेको छ । बाढीले राेशी खाेला अन्तर्गतकाे वीपी राजमार्ग समेत पुर्ण रुपमा क्षतिग्रस्त बनाएकाे थियाे ।
स्थानीयका अनुसार रोशी नदी आसपास भइरहेका अव्यवस्थित उत्खननले नदीको बहाव नै परिवर्तन गर्ने अवस्था सिर्जना गरेको छ । नदी किनारमै ढुंगा–बालुवा थुपार्ने र खानीजन्य माटो खोलामा फाल्ने जस्ता गतिविधिले बाढीको जोखिम झन् बढाएको उनीहरूको गुनासो छ ।
२०८१ असोजमा खोपासी क्षेत्रमा २४ घण्टामा ३३१.६ मिलिमिटर वर्षा मापन भएको थियो, जुन असाधारण घटना मानिन्छ । तर यस्तो चरम वर्षालाई पनि व्यवस्थापन गर्न सकिने संरचना र नीतिगत तयारीको अभावले क्षति अझ व्यापक बनेको विश्लेषण गरिएको छ ।
समग्रमा काभ्रेपलाञ्चोकमा फैलिएका अवैध खानी तथा क्रसर उद्योगले वातावरणीय सन्तुलन बिगार्दै विपद् जोखिमलाई बहुगुणा बढाइरहेका छन् । सरकारी कडाइको घोषणा प्रभावकारी कार्यान्वयनमा रूपान्तरण हुन सके मात्र भविष्यमा यस्ता त्रासदी दोहोरिन नदिन सकिने देखिन्छ ।

प्रतिक्रिया