काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद (डीपी) अर्यालले पदभार सम्हालेको पहिलो दिनमै संसद् सञ्चालनमा सादगी र समानताको सन्देश दिएका छन् । उनले परम्परागत भीआईपी कुर्सी हटाएर सामान्य कुर्सीमा बसेर बैठक सञ्चालन गरे ।
यसअघि सभामुखका लागि विशेष रूपमा प्रयोग हुँदै आएको भव्य कुर्सी हटाउँदै उनले सांसदहरू बस्ने जस्तै साधारण कुर्सी प्रयोग गर्न निर्देशन दिएका थिए । सचिवालयले सोहीअनुसार व्यवस्था मिलाएपछि पहिलो बैठक नै फरक सन्देशसहित अघि बढेको देखिएको छ ।
बैठक सञ्चालनका क्रममा उनको प्रस्तुति शैली पनि चर्चाको विषय बनेको छ । अत्यन्त शालीन, मधुर र स्पष्ट आवाजमा उनले बैठक सञ्चालन गर्दै अनावश्यक शब्दजाल प्रयोग नगरी संयमित अभिव्यक्ति दिएका थिए ।
राजनीतिक वृत्तमा अर्यालको यो सुरुवातलाई नयाँ संसदीय संस्कारको संकेतका रूपमा हेरिएको छ । सादगी, अनुशासन र प्रभावकारी सञ्चारलाई प्राथमिकता दिने उनको शैलीले आगामी दिनमा संसद्को गरिमा अझ उकास्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया