अनावश्यक फोटो झुण्ड्याउने प्रचलनमा रोक, खर्च मितव्ययितामा प्रधानमन्त्रीको जोड

भिजन समाचार
50
Shares

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सचिवालयले सरकारी कार्यालयहरूमा खर्च मितव्ययिता कायम गर्न नयाँ निर्देशन जारी गरेको छ ।

सचिवालयले आन्तरिक सर्कुलरमार्फत मन्त्रालय तथा सम्बन्धित निकायहरूलाई प्रत्येक कोठामा प्रधानमन्त्रीको फोटो अनावश्यक रूपमा झुण्ड्याउने प्रचलन रोक्न स्पष्ट निर्देशन दिएको हो । सर्कुलर अनुसार फोटो आवश्यक र औचित्यका आधारमा मात्रै राख्नुपर्ने उल्लेख गरिएको छ ।

सचिवालयका अनुसार अनावश्यक रूपमा फोटो छपाइ, वितरण र प्रदर्शन गर्दा सरकारी स्रोतको दुरुपयोग हुने भएकाले यसलाई नियन्त्रण गर्नुपर्ने आवश्यकता देखिएको हो । “जहाँ आवश्यक छ, त्यहाँ मात्र फोटो राख्ने, अन्यथा खर्च घटाउने” नीति अपनाउन निर्देशन दिइएको छ ।

साथै, कूटनीतिक नियोग (डिप्लोमेटिक मिसन) बाहेकका कार्यालयहरूमा मात्र आवश्यक स्थानमा फोटो राख्नुपर्ने प्रावधानसमेत सर्कुलरमा समेटिएको छ । यसले अनावश्यक प्रदर्शन र खर्चलाई घटाउने अपेक्षा गरिएको छ ।

यो कदमलाई सरकारी खर्च व्यवस्थापनमा मितव्ययिता, पारदर्शिता र जवाफदेहितालाई सुदृढ बनाउने प्रयासका रूपमा हेरिएको छ । सचिवालयका अधिकारीहरूले सार्वजनिक स्रोतको दुरुपयोग रोक्न र आवश्यकतामुखी खर्चलाई प्राथमिकता दिन यस्तो निर्देशन आवश्यक रहेको बताएका छन् ।

सरकारले पछिल्लो समय खर्च कटौती र सुशासनलाई प्राथमिकतामा राख्दै विभिन्न सुधारका पहलहरू अघि बढाउँदै आएको छ । यस्तो निर्देशनले प्रशासनिक संरचनामा खर्च नियन्त्रण र कार्यसंस्कृतिमा सुधार ल्याउने विश्वास गरिएको छ ।