पूर्वप्रधानमन्त्री र गृहमन्त्री पक्राउ : जेनजी आन्दोलन दमन प्रकरणमा अनुसन्धान सुरु

भिजन समाचार
18
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरको गुण्डुस्थित निवासबाट उनलाई नियन्त्रणमा लिएको हो ।

अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृत्वको टोली आइतबार बिहानै ओली निवास पुगेको थियो । कार्यालयका एक अधिकृतका अनुसार उनलाई औपचारिक रूपमा पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

यसैबीच, ओली नेतृत्वको तत्कालीन सरकारका गृहमन्त्री रमेश लेखकलाई पनि प्रहरीले भक्तपुरको कटुन्जेस्थित निवासबाट पक्राउ गरेको छ ।

सरकारले गठन गरेको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णयपछि उक्त कदम चालिएको हो । नयाँ सरकार गठनलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयपछि गृहमन्त्री सुधन गुरुङ ले सुरक्षा निकायका प्रमुखहरूसँग निरन्तर छलफल गरेका थिए । कानुनी प्रक्रिया पूरा गर्न मध्यरातमा कानुन मन्त्रालयका सचिव पाराश्वर ढुंगाना लाई समेत प्रहरी मुख्यालय बोलाइएको थियो । त्यसपछि लिखित आदेश तयार भएसँगै प्रहरीले पक्राउ प्रक्रिया अघि बढाएको हो ।

गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ दमन प्रकरणबारे आयोगले अनुसन्धान गरी प्रतिवेदन तयार पारेको थियो । सो प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक तथा तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङलाई फौजदारी कसुर अन्तर्गत अनुसन्धान गर्न सिफारिस गरिएको थियो ।

मुलुकी फौजदारी संहिताको दफा १८१ र १८२ अनुसार ‘लापरबाहीपूर्ण तथा हेलचेक्र्याइँ गरेर ज्यान लिएको कसुर’ अन्तर्गत कारबाही सिफारिस गरिएको आयोगले उल्लेख गरेको छ ।

प्रहरीले उक्त सिफारिसका आधारमा जरुरी पक्राउ पुर्जी जारी गर्दै दुवै नेतालाई नियन्त्रणमा लिएको जनाएको छ ।

घटनापछि देशको राजनीतिक वृत्तमा तरंग पैदा भएको छ भने थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।