प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ ओखलढुंगाका विजयी र पराजित दुवै प्रमुख उम्मेदवारले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विश्वराज पोखरेल र नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईंटेलले जिल्ला निर्वाचन कार्यालय ओखलढुंगामार्फत निर्वाचन आयोगमा खर्च विवरण पेश गरेका हुन् । पोखरेल र लुर्इंटेल विच पाँच मतको अन्तरमा हारजीत भएको थियो ।
निर्वाचनमा विजयी भएका पोखरेलले १० लाख ३४ हजार ७०० रुपैयाँ खर्च भएको विवरण बुझाएका छन् भने कांग्रेस उम्मेदवार लुईंटेलले ३० लाख ९९ हजार १५० रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेका छन् । यसरी मतान्तर अत्यन्तै सानो भए पनि खर्चमा भने उल्लेख्य अन्तर देखिएको छ ।
विजयी उम्मेदवार पोखरेलको खर्च
पोखरेलले निर्वाचन आयोगमा बुझाएको विवरण अनुसार चुनावी अभियानका विभिन्न शीर्षकमा गरी १० लाख ३४ हजार ७०० रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् ।
उनले प्रचार–प्रसार सामग्री छपाइ (वाचापत्र, नमुना मतपत्र, फ्लेक्स, नामावली, ब्यानर) मा १ लाख ९५ हजार रुपैयाँ खर्च गरेका छन् ।
त्यस्तै सवारी साधन तथा इन्धनमा २ लाख ३३ हजार ५०० रुपैयाँ, घरदैलो, दाना, खाजा तथा बसोबासमा २ लाख ७० हजार २०० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।
यसैगरी निर्वाचन सम्पर्क कार्यालय व्यवस्थापनमा २० हजार रुपैयाँ, बुथ प्रतिनिधि परिचालनमा १ लाख ५० हजार रुपैयाँ, विद्युतिय प्रचार–प्रसारमा २० हजार रुपैयाँ, कोणसभा, गोष्ठी तथा भेटघाटमा ५० हजार रुपैयाँ, वडास्तरीय प्रचारप्रसारमा ७५ हजार रुपैयाँ, निर्वाचन सम्बन्धी सामग्री ढुवानीमा २० हजार रुपैयाँ र अन्य विविध खर्चमा २० हजार रुपैयाँ खर्च भएको उनले जनाएका छन् ।

कांग्रेस उम्मेदवार लुईंटेलको खर्च
नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईंटेलले भने चुनावी अभियानका क्रममा ३० लाख ९९ हजार १५० रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगमा बुझाएका छन् ।
उनका अनुसार मनोनयन दर्ता गर्दा १० हजार रुपैयाँ, नमुना मतपत्र तथा पोस्टर छपाइमा १ लाख ५० हजार रुपैयाँ, यातायातमा १४ लाख १५ हजार रुपैयाँ खर्च भएको उल्लेख छ ।
त्यस्तै प्रचार–प्रसार प्रशिक्षण तथा खाजा खर्चमा २ लाख १ हजार १५० रुपैयाँ, प्रचार सामग्री खरिदमा १ लाख ९८ हजार रुपैयाँ र गोष्ठी तथा भेलामा ११ लाख २५ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ ।

प्रतिनिधिसभा निर्वाचनमा ओखलढुंगामा निकै कडा प्रतिस्पर्धा भएको थियो । अन्तिम मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विश्वराज पोखरेलले १३ हजार ९ सय ५३ मत प्राप्त गरी विजयी हुँदा नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईंटेलले १३ हजार ९ सय ४८ मत प्राप्त गरेका थिए ।
फागुन २१ गते सम्पन्न निर्वाचनमा ओखलढुंगाबाट दुई स्वतन्त्र सहित १५ जनाले भाग लिएका थिए । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार अम्बिरबाबु गुरुङ, नेकपा एमालेकी अस्मिता थापा, श्रम संस्कृति पार्टीका डा.उद्धव कुमार राई लगायत अन्य उम्मेदवारले चुनावी खर्च विवरण बुझाउन अझै बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया