ओखलढुंगामा ६ हजार बढी मत बदर

भिजन समाचार
164
Shares

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ओखलढुंगामा प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ गरी हजारौं मत बदर भएको पाइएको छ ।

मुख्य निर्वाचन अधिकृत हरिप्रसाद कोइरालाका अनुसार जिल्लामा प्रत्यक्षतर्फ ३ हजार ३५६ र समानुपातिकतर्फ २ हजार ७१० मत बदर भएका छन् । यसरी कुल ६ हजार ६६ मत बदर भएको तथ्यांक सार्वजनिक भएको हो ।

उनका अनुसार प्रभावकारी मतदाता शिक्षामा कमी हुँदा बदर मतको संख्या बढेको देखिएको छ । मतदानका क्रममा मतदातालाई पहिलो मतपत्र प्रत्यक्षतर्फ दिइने भएकाले केही मतदाताले एउटै मतपत्रमा प्रत्यक्ष र समानुपातिक दुवैका लागि छाप लगाउँदा मत बदर भएको हो ।

यसका साथै केही मतदाताले औँठाछाप लगाउने, मसि लतपतिने जस्ता प्राविधिक कारणले पनि मत खेर गएको उनले बताए ।

जिल्लामा प्रत्यक्षतर्फ १ लाख २२ हजार ७१५ र समानुपातिकतर्फ १ लाख २२ हजार ७४१ मतदाता रहेका थिए । निर्वाचनमा प्रत्यक्षतर्फ ५८ हजार ८९१ र समानुपातिकतर्फ ५९ हजार ६९० मत खसेको थियो । सोही आधारमा गरिएको विश्लेषणमा कुल ६ हजार ६६ मत बदर भएको देखिएको हो ।

बदर मत घटाउन निर्वाचन आयोगले फागुन ३ देखि १७ गतेसम्म घरदैलो मतदाता शिक्षा अभियान सञ्चालन गरेको भए पनि यो अभियान पूर्ण प्रभावकारी हुन नसकेको सरोकारवालाहरूले बताएका छन् ।

आगामी निर्वाचनमा बदर मत कम गर्न मतदाता शिक्षामा विशेष ध्यान दिनुपर्ने देखिएको उनीहरूको भनाइ छ । मुख्य निर्वाचन अधिकृत कोइरालाले स्थानीय प्रशासन, राजनीतिक दल, विद्यालय तथा नागरिक समाजसँग सहकार्य गर्दै नियमित सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।