नेपाल सरकारका गृहमन्त्री ओमप्रकाश अर्याल र निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारी ओखलढुंगा आएर निर्वाचनको तयारीबारे स्थलगत निरीक्षण गरेका छन् ।
सुरक्षा निकायका उच्च अधिकारीसहित आएको टोलीले मुख्य निर्वाचन अधिकृत हरि प्रसाद कोइराला र प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रातीसँग जिल्लामा भइरहेको निर्वाचन तयारी, सुरक्षा व्यवस्थापन, मतदान केन्द्रको अवस्था तथा समग्र तयारीबारे विस्तृत जानकारी लिएको थियो ।
निरीक्षण तथा छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री अर्यालले तोकिएकै मितिमा निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गरिने दाबी गरे । उनले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै सुरक्षा व्यवस्थामा कुनै कमी हुन नदिइने बताए ।
यस्तै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै तोकिएको मितिमा निर्वाचन नहुने भन्ने आशंका नगर्न आग्रह गरे । उनले आचारसंहिता उल्लंघनका घटनालाई सूक्ष्म रूपमा अनुगमन गरिरहेको, प्राप्त उजुरीमाथि छानबिन तथा आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको पनि स्पष्ट पारे ।
जिल्लामा मतदान केन्द्र व्यवस्थापन, कर्मचारी परिचालन तथा सुरक्षा संयोजनको काम प्रभावकारी रूपमा अघि बढिरहेको सम्बन्धित अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया