नेकपा एमाले ओखलढुंगाको संयोजकमा हर्कबोल राई चयन

भिजन समाचार
198
Shares

नेकपा (एमाले) ओखलढुंगा जिल्ला कमिटीको संयोजकमा हर्कबोल राई सर्वसम्मत रूपमा चयन भएका छन् । आज पार्टी कार्यालयमा बसेको बैठकले राईको संयोजकत्वमा नयाँ जिल्ला कमिटी गठन गरेको हो ।

बैठकमा पार्टी संगठनलाई थप सुदृढ बनाउने, आगामी निर्वाचनलाई लक्षित गर्दै जनसम्पर्क विस्तार गर्ने तथा पार्टीभित्रको एकतालाई मजबुत बनाउने तयारी भएको छ । नयाँ कमिटीलाई जिल्लामा पार्टी गतिविधि प्रभावकारी बनाउने र आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीकी उम्मेदवार अस्मिता थापालाई विजयी गराउने जिम्मेवारी दिइएको छ ।

संयोजक राईले पार्टीले दिएको जिम्मेवारीलाई इमान्दारीपूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै संगठनलाई जरा तहसम्म बलियो बनाउने बताएका छन् ।

यसअघि तत्कालीन अध्यक्ष ज्ञानबहादुर खड्का (जीबी) ले पदसहित पार्टी परित्याग गर्दै नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेपछि जिल्ला अध्यक्ष पद रिक्त रहेको थियो । उपाध्यक्ष, सचिवसहित जिल्ला कमिटीका अन्य पदाधिकारीहरूले समेत पार्टी छोडेका थिए । अध्यक्ष पदको पछिल्लो निर्वाचनमा पुर्व सभासद राई खड्कासँग प्रतिस्पर्धामा पराजित भएका थिए ।

केही समयदेखि पार्टीमा निष्क्रिय रहेका पूर्व अध्यक्ष शंकर कटुवालसहितका पुराना नेताहरू पुनः सक्रिय भएका छन् । बैठकमा प्रदेश तथा केन्द्रीय नेतृत्वका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।