अम्बिर गुरुङलाई जिताउन १००१ सदस्यीय निर्वाचन परिचालन समिति गठन

भिजन समाचार
746
Shares

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा साझा उम्मेदवार अम्बिर बाबु गुरुङलाई विजयी गराउने उद्देश्यले ओखलढुंगामा १००१ सदस्यीय जिल्ला निर्वाचन परिचालन समिति गठन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) ले उक्त समिति गठन गरेका हुन् ।

गुरुङको चुनावी अभियानलाई थप प्रभावकारी, संगठित र परिणाममुखी बनाउने लक्ष्यसहित समिति गठन गरिएको कोशी प्रदेश सांसद तथा समितिका संयोजक बाबुराम गौतमले जानकारी दिए । उनका अनुसार जिल्लाका सबै पालिका, वडा तथा विभिन्न समुदायको प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।

संयोजक गौतमले जिल्लाभर घरदैलो कार्यक्रम, कोणसभा, आमसभा, टोलस्तरीय बैठक तथा मतदाता भेटघाट अभियानलाई तीव्र बनाइने बताए । सबै तहका कार्यकर्ता र सर्वसाधारणलाई समेटेर साझा उम्मेदवारलाई विजयी गराउने रणनीति बनाइएको गैतमको भनाइ छ ।

काेशी प्रदेशका पूर्वमन्त्री गुरुङले जिल्लाको विकासका लागि पुर्‍याएको योगदानको स्मरण गर्दै आगामी निर्वाचनमा जनताले विजयी गराउने विश्वास गरिएककाे छ ।

पार्टीबाट टिकट नपाएपछि नेकपा एमालेबाट विद्रोह गर्दै अम्बिर बाबु गुरुङ नेकपाबाट उम्मेदवार बनेका हुन् । नेकपा र जसपाबीचको सहमति अनुसार उनलाई साझा उम्मेदवारका रूपमा अघि सारिएको हो ।

नेताहरूले जिल्लामा राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि गुरुङको जित अपरिहार्य रहेको भन्दै एकताबद्ध भएर चुनावी अभियानमा जुट्न कार्यकर्तालाई आग्रह गरेका छन् ।