नेपाली कांग्रेसको चुनावी अभियान मानेभञ्ज्याङबाट सुरु

भिजन समाचार
208
Shares

नेपाली कांग्रेस ओखलढुंगाले मानेभञ्ज्याङ गाउँपालिकाबाट औपचारिक रूपमा चुनावी अभियान सुरु गरेको छ । काठमाडौँ, इटहरी, पोखरा लगायतका शहरलाई लक्षित गर्दै कार्यकर्ता भेटघाट तथा चुनावी कार्यक्रम सम्पन्न गरेपछि कांग्रेसले जिल्लास्तरको अभियान मानेभञ्ज्याङबाट सुरु गरेको हो ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइटेललाई विजयी गराउने उद्देश्यले ओखलढुंगामा जिल्ला निर्वाचन परिचालन समिति गठन गरिएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमितिको बैठकले एक हजार एक सदस्यीय समिति गठन गरेको जनाएको छ ।

निर्वाचन केन्द्रित गतिविधिलाई प्रभावकारी बनाउन कांग्रेसले पाँचवटा विभिन्न समिति समेत गठन गरेको छ । पार्टीका जिल्ला सचिव राजकुमार ढुंगानाका अनुसार चुनाव परिचालन समिति, भातृ तथा शुभेच्छुक परिचालन समिति, अनुगमन तथा मूल्याङ्कन समिति, घोषणापत्र निर्णय समिति तथा चुनाव प्रचार–प्रसार एवं प्रशासनिक संयन्त्र समन्वय समिति गठन गरिएको हो ।

यसैबीच आइतबार मानेभञ्ज्याङ गाउँपालिकामा बृहत् चुनावी बैठक सम्पन्न गर्दै कांग्रेसले औपचारिक रूपमा जिल्लामा चुनावी अभियान सुरु गरेको छ । सोमबार सिद्धिचरण नगरपालिकामा बृहत् चुनावी बैठक आयोजना गरिने जनाइएको छ ।

निर्धारित कार्यतालिका अनुसार माघ २० गते चिशंखुगढी गाउँपालिका, माघ २१ गते मोलुङ गाउँपालिका, माघ २२ गते खिजीदेम्बा गाउँपालिका, माघ २३ गते लिखु गाउँपालिका, माघ २४ गते चम्पादेवी गाउँपालिका र माघ २५ गते सुनकोशी गाउँपालिकामा बृहत् चुनावी बैठक सञ्चालन गरिनेछ ।

आठै स्थानीय तहमा पालिका स्तरिय बृहत् चुनावी बैठक सम्पन्न भएपछि वडा–वडामा समेत चुनावी बैठक सञ्चालन गरिने नेपाली कांग्रेसले जनाएको छ ।