आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन ४ गतेपछि मात्रै चुनावी प्रचार–प्रसारका कार्यक्रम गर्न पाइने भएको छ ।
निर्वाचन आचारसंहिता अनुगमन कार्यालय ओखलढुंगाले १५ बुँदे सूचना जारी गर्दै राजनीतिक दल, उम्मेदवार, दलका भातृ संगठन तथा सम्बन्धित व्यक्तिहरूले फागुन ४ गतेदेखि मात्र निर्वाचन प्रचारप्रसारका गतिविधि सञ्चालन गर्न जानकारी दिएको हो ।
कार्यालयका अनुसार निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ मा उल्लेखित मापदण्डभित्र रहेर मात्रै कार्यक्रम गर्न पाइनेछ ।
अनुगमन अधिकृत रोशन श्रेष्ठ र मोहनकृष्ण श्रेष्ठका अनुसार निर्वाचन आचारसंहिताको पालना सुनिश्चित गर्न अनुगमनलाई थप सक्रिय बनाइएको छ ।
आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउन निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयनमा ल्याएर निरन्तर अनुगमन गरिरहेको जनाएको छ ।
कतिपय राजनीतिक दलहरूले आचारसंहिता विपरीत प्रचारप्रसारका गतिविधि गरिरहेको पाइएकोले फागुन ४ गतेअघि यस्ता कार्यक्रम नगर्न र तोकिएको मितिपछि मात्रै मापदण्डभित्र रहेर कार्यक्रम गर्न सूचनामार्फत जानकारी गराइएको अनुगमन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया