श्रम संस्कृति पार्टीले ओखलढुंगामा माटो पूजा गर्दै औपचारिक रूपमा चुनावी अभियान सुरु गरेको छ । जिल्लाको प्रवेशद्वार मानेभञ्ज्याङ गाउँपालिका–७ हर्कपुरमा भूमिको पूजा गर्दै प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. उद्धव राईसहित पार्टीका नेता तथा कार्यकर्ताले अभियानको थालनी गरेका हुन् ।
पार्टीका जिल्ला अध्यक्ष दर्वराज राईका अनुसार माटोको पूजा गर्दै सुरु गरिएको यो अभियान श्रम, माटो र भूमिसँगको सम्बन्धलाई जनता माझ सन्देश दिन केन्द्रित रहेको छ ।
अभियानको क्रममा उम्मेदवार राईले जिल्लाका विभिन्न धार्मिक तथा ऐतिहासिक स्थलमा पूजा तथा श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले जिल्लाकै प्रसिद्ध धार्मिक स्थल लिब्जु सामा थान र मोलीस्थित पञ्चकन्या मन्दिरमा पूजा गरेका छन् । त्यसैगरी जिल्ला सदरमुकाम गोरुमारे भञ्ज्याङमा रहेको समाजसेवी स्वर्गीय बलबहादुर राई तथा सिछिचरण पार्कमा रहेको युगकवि सिद्धिचरण श्रेष्ठको सालिकमा माल्यार्पण गरिएको छ ।
पार्टीले जिल्लाका आठवटै स्थानीय तहका ७५ वडाका गाउँ–टोलमा पुगेर मत माग्ने अभियान सञ्चालन गर्ने जनाएको छ ।
यसैबीच ओखलढुंगामा अन्य राजनीतिक दलहरूले पनि चुनावी गतिविधि तीव्र पारेका छन् । नेपाली कांग्रेसले शनिबार काठमाडौँमा नेता तथा कार्यकर्तासँग भेटघाट कार्यक्रम गर्दैछ भने नेकपा काठमाडौँको कार्यक्रम सकेर जिल्लामा केन्द्रित अभियान सुरु गर्ने तयारीमा छ । नेकपा एमालेले जिल्लाका विभिन्न पालिकामा पुगेर मतदाता तथा कार्यकर्तासँग भेटघाट गर्दै मत मागिरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी लगायत अन्य दल तथा स्वतन्त्र उम्मेदवारहरूले पनि चुनावी अभियानलाई तीव्र बनाएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसबाट कुमार लुईटेल, नेकपा एमालेबाट अस्मिता थापा, नेकपाबाट अम्बिरबाबु गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विश्वराज पोखरेल, श्रम संस्कृति पार्टीबाट डा. उद्धव राईसहित १५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया