अम्बिर गुरुङलाई जसपाको दह्रो साथ

भिजन समाचार
662
Shares

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट ओखलढुंगा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका अम्बिरबाबु गुरुङलाई जनता समाजवादी पार्टी (जसपा) नेपालको दह्रो साथ प्राप्त भएको छ । जसपाको आयोजनामा काठमाडौंमा सम्पन्न उम्मेदवार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा जसपाका हजारैं समर्थकले गुरुङलाई साझा उम्मेदवारका रूपमा अघि सारेका छन् ।

ओखलढुंगा–काठमाडौं सम्पर्क समिति जसपा नेपालको आयोजनामा काठमाडौंको बौद्धमा सम्पन्न कार्यक्रममा बोल्दै उम्मेदवार गुरुङले जिल्लामा भौतिक पूर्वाधारसँगै युवालाई आत्मनिर्भर बनाउने योजनालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा बोल्दै गुरुङले एमाले पार्टीभित्र मौलाएको बेथिति, जिल्ला कमिटीले सिफारिस गरेका उम्मेदवारलाई टिकट नदिइ केन्द्रबाट गरिएको हस्तक्षेप र जनभावना विपरीत उम्मेदवार सिफारिस भएकै कारण आफू फरक दलबाट उम्मेदवार बन्नुपरेको स्पस्ट पारे । जनताको भावना र विकासको पक्षमा आफू उभिने उनको भनाइ छ ।

जसपा नेपालका केन्द्रीय सदस्य तथा खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले गुरुङले यसअघि जिल्लाको विकासका लागि गरेका काम र देखाएको नेतृत्व क्षमताको प्रशंसा गर्दै सिंगो ओखलढुंगाको विकासका लागि उनलाई साझा उम्मेदवारका रूपमा अघि सारिएको बताए । उनले आजको युवा पुस्ताको मुख्य माग सुशासन र विकास भएको उल्लेख गर्दै वाद–सिद्धान्त भन्दा जिल्लाको समग्र विकास महत्वपूर्ण हुने धारणा राखे ।

त्यसैगरी ओखलढुंगा–काठमाडौं सम्पर्क समिति जसपा नेपालका अध्यक्ष रामकृष्ण मगरले सिद्धिचरण नगरपालिका–६ जन्तरखानी क्षेत्रमा गुरुङलाई उल्लेख्य मत प्राप्त हुने दाबी गरे । कार्यक्रममा जसपा नेपालका केन्द्रीय अध्यक्ष खेमराज खड्का लगायत केन्द्रीय नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो ।

काठमाडौंमा बसोबास गर्ने ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका स्थायी घर भएका हजारौँ नागरिकको सहभागिता रहेको कार्यक्रममा गुरुङलाई साझा उम्मेदवार बनाएर जिल्लाको विकासका लागि गुरुङलाई जिताउन पहल गरिने बताइएको छ ।