राजनितिक कार्यक्रम गर्न प्रशासनको अनुमति अनिवार्य

भिजन समाचार
94
Shares

ओखलढुंगामा राजनीतिक कार्यक्रम, सभा–सम्मेलन लगायतका गतिविधि सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयबाट कम्तीमा २४ घण्टा अगावै अनुमति लिनुपर्ने भएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका अनुसार प्रक्रिया अघि बढिरहेको सन्दर्भमा जिल्लामा शान्ति सुरक्षा तथा अमनचयन कायम राख्न प्रशासनले कडाइका साथ निर्देशन जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले जिल्लामा क्रियाशील सबै राजनीतिक दल तथा दलनिकट भ्रातृ संगठनलाई राजनीतिक सभा, सम्मेलन, भेला, जुलुस तथा अन्य कार्यक्रम आयोजना गर्दा अनिवार्य रूपमा कार्यक्रम सुरु हुनुभन्दा कम्तीमा २४ घण्टा अगावै तोकिएको ढाँचामा निवेदन पेश गरी अनुमति लिन निर्देशन दिएको छ ।

गृह मन्त्रालयको मिति कार्तिक ९ गतेको निर्णय अनुसार जारी गरिएको उक्त निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालयमा निवेदनसहित जानकारी नगराई सञ्चालन गरिने कुनै पनि राजनीतिक कार्यक्रम गैरकानुनी मानिने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत तथा निर्वाचन सम्पर्क अधिकृत रोशन श्रेष्ठले जानकारी दिए ।

यसैगरी, राजनीतिक कार्यक्रममा आवत–जावतका लागि सरकारी सवारी साधनको प्रयोग नगर्न र नगराउन पनि प्रशासनले स्पष्ट निर्देशन दिएको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित तथा भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सबै राजनीतिक दल, संगठन तथा सरोकारवालालाई प्रशासनले सहकार्य गर्न आग्रह गरेको छ ।