एमाले ओखलढुंगाका खम्बा अम्बिरबाबु गुरुङले पार्टी छाडे, नेकपाबाट चुनाव लड्ने


नेकपा (एमाले) ओखलढुंगा जिल्लामा टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै प्रभावशाली नेता अम्बिरबाबु गुरुङले पार्टी परित्याग गरेका छन् । लामो समयदेखि एमालेको संगठन निर्माणमा खम्बाका रूपमा चिनिएका गुरुङले विधि र प्रक्रिया मिचिएको आरोप लगाउँदै पार्टीबाट अलग भएको घोषणा गरेका हुन् ।

यसअघि ओखलढुंबाट प्रतिनिधिसभा उम्मेदवारका लागि गुरुङसहित पाँच जनाको नाम जिल्ला कमिटीबाट सिफारिस गरिएको थियो । जिल्ला कमिटीले १८ जना आकांक्षीमध्ये पाँच जनामा सहमति जुटाई प्रदेश कमिटीमा पठाएको थियो । प्रदेशले पनि सोही सिफारिस केन्द्रमा पठाए पनि केन्द्रले आकांक्षी सूचीमा समेत नरहेकी अस्मिता थापालाई उम्मेदवार बनाए पछि जिल्लामा असन्तोष चुलिएको थियो ।

थापा एमालेको ११औँ महाधिवेशनमा प्रतिनिधि पराजित भए पनि केन्द्रीय सदस्यमा निर्वाचित भएकी नेता हुन् । उनी यसअघि लिखु गाउँपालिका उपाध्यक्ष थिइन् र सो पदबाट राजीनामा दिएर मनोनयन दर्ता गरिसकेकी छन् । एमाले जिल्ला कार्यसमितिले उम्मेदवार सच्याउन माग गर्दै विज्ञप्ति जारी गरे पनि केन्द्रबाट सुनुवाइ नभएपछि गुरुङले पार्टी छाड्ने निर्णय लिएका हुन् ।

पार्टी परित्याग गरेपछि गुरुङले पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको नेकपाबाट उम्मेदवारी पाएका छन् । नेकपाले यसअघि तय गरेको उम्मेदवार फिर्ता गरी गुरुङलाई टिकट दिएको जनाएको छ । साथै, उनले जनता समाजवादी पार्टी (जसपा)सँग कार्यगत एकता भएको जानकारी दिएका छन् ।

गुरुङसँगै उनका समर्थक नेता तथा कार्यकर्ताहरू पनि नेकपामा गएका छन् । युवामाझ लोकप्रिय गुरुङ तत्कालीन कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रहँदा ओखलढुंगामा दर्जनभन्दा बढी विकास आयोजनाहरू भित्र्याउन सफल भएका थिए ।

एमालेभित्रको आन्तरिक विवादका कारण भएको यो घटनाले ओखलढुंगाको राजनीतिक समीकरण थप रोचक बन्ने संकेत गरेको छ । अन्य दलका असन्तुष्ट पक्षकाे पनि गुरुङलाई साथ समर्थन हुन सक्ने बताईएको छ ।