उल्टियो कांग्रेसको निर्णयः ओखलढुंगामा कुमार लुइँटेलले टिकट पाए

भिजन समाचार
708
Shares

नेपाली कांग्रेसले ओखलढुंगा जिल्लामा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार परिवर्तन गरेको छ । हिजो साँझ रामहरि खतिवडालाई उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेसले २४ घण्टा नबित्दै आज बिहान कुमार लुइँटेललाई टिकट प्रदान गरेको हो ।

पार्टीको केन्द्रीय तहमा भएको थप छलफलपछि उम्मेदवार फेरबदल गरिएको बताइएको छ । टिकट पाएका लुइँटेल ओखलढुंगामा लामो समयदेखि सामाजिक सेवा तथा कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका नेता हुन् । उनले हालसम्म कुनै लाभको पद नलिएको र संगठन निर्माणमा निरन्तर योगदान दिँदै आएको कांग्रेस नेताहरूको भनाइ छ ।

कांग्रेसले अन्तिम समयमा उम्मेदवार परिवर्तन गरेसँगै ओखलढुंगाको निर्वाचन राजनीतिक रूपमा थप रोचक बनेको छ । यस निर्वाचनमा कांग्रेससहित अन्य दलबाट पनि नयाँ अनुहारहरू मैदानमा उत्रिएका कारण मतदाताबीच नयाँ नेतृत्व चयनको अवसर सिर्जना भएको विश्लेषण गरिएको छ ।

अब ओखलढुंगामा हुने प्रतिनिधिसभा निर्वाचनमा सबै नयाँ अनुहारबीच कडा प्रतिस्पर्धा हुने निश्चित देखिएको छ । लुईटेल सुनकाेशी गाउँपालिका-१ बलखुका स्थायी बासिन्दा हुन् ।