नयाँ राजनीतिक यात्रा सुरु गरेका ओखलढुंगाका कम्युनिष्ट नेता सिताराम गुरुङलाई ‘पहिलो गाँसमै ढुंगा’ भनेझैं भएको छ । समानुपातिक सांसद बनाउने प्रचण्ड र माधव नेपालको आश्वासनपछि एमाले परित्याग गरेर नेपाली कम्युनिष्ट पार्टी प्रवेश गरेका गुरुङको नाम पार्टीले समानुपातिकको सूचीबाट हटाएको हो ।
जिल्ला पार्टीले गुरुङको नाम पहिलो नम्बरमा राखेर सिफारिस गरेको थियो ।
स्रोतका अनुसार उनलाई पार्टी प्रवेश गराउन पहल गरेका नेता नेत्रप्रसाद भट्टराईले पार्टी केन्द्रसँग गुरुङको नाम समानुपातिकको सूचिमा राख्न पहल गरेका थिए । तर नेकपाले निर्वाचन आयोगमा बुझाएको लिष्टमा गुरुङको नाम छैन ।
एमालेमा लामो समय पेलिएका गुरुङ नेकपामा पनि सुरुवाती चरणमै डामिएका छन् ।
राजनीतिक रुपमा सकृय र आर्थिक रुपमा सक्षम भएकाले गुरुङलाई समानुपातिक उम्मेदवार बनाएर चुनावमा जाने नेकपाका जिल्ला नेताहरुको तयारी थियो ।
नेकपाको समानुपातिक सूचिमा ओखलढुंगाबाट निर्मला श्रेष्ठ परेकी छन् ।
श्रेष्ठ र गुरुङ दुवै एउटै गाउँ रुम्जाटारका हुन् ।
एमालेमा रुम्जाटारकै इच्छाकुमारी गुरुङसँग भिडेका सिताराम नेकपामा रुम्जाटारकै निर्मला श्रेष्ठसँग भिड्न पुगेका छन् ।
समानुपातिक सूचीमा श्रेष्ठको नाम समेटिएपछि एउटै गाउँका भएकाले गुरुङको नाममा छलफल समेत भएको थिएन । श्रेष्ठ र गुरुङ दुवै एमाले पृष्ठभूमीका हुन् । श्रेष्ठ एकिकृत समाजवादी गठन हुँदा देखिनै पार्टीमा सकृय थिइन् । गुरुङ केही दिन अघि मात्रै प्रवेश गरेका हुन् ।

प्रतिक्रिया