ओखलढुंगाका कम्युनिष्ट नेता सिताराम गुरुङ नेपाली कम्युनिष्ट पार्टी नेकपा प्रवेश गरेका छन् । लामो समय नेकपा एमालेमा रहेर राजनीति गरेका जिल्लाका पुराना कम्युनिष्ट नेता गुरुङ नेपाली कम्युनिष्ट पार्टी प्रवेश गरेका हुन् ।
२०५४ सालमा एमालेबाट तत्कालीन रुम्जाटार गाविसको अध्यक्षमा निर्वाचित भएका गुरुङले एमालेको जिल्ला कमिटी र प्रदेश कमिटी तथा विधान महाधिवेशन प्रतिनिधि समेत भएर काम गरेका थिए ।
अघिल्लो जिल्ला अधिवेशनमा जिल्ला कमिटी अध्यक्षमा पराजित भएपछि भने एमालेमा विद्रोह गर्दै आएका थिए । २०७९ को स्थानीय निर्वाचनमा सिद्विचरण नगरपालिकामा बागी उमेदवार बनेका थिए । त्यसबेला एमालेले कारबाही गरेको थियो । पछि पार्टी केन्द्रले कारबाही फुकुवा गरेर उनको सदस्यता नविकरण समेत केन्द्रबाटै गरिदिएको थियो । पछिल्लो समय भने तल्लो तहका पार्टी कमिटीले प्रकृया अघि नबढाउँदा उनको सदस्यता केन्द्रले पनि नविकरण गरेको थिएन ।
लामो राजनीति इतिहास र सामाजिक क्षेत्रमा योगदान गरेको पहिचान बोकेका नेता अन्ततः पार्टी परित्याग गरेर नेकपामा प्रवेश गरेका छन् । नेकपाका नेता नेत्रप्रसाद भट्टराईको अगुवाइमा पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले गुरुङलाई पार्टीमा स्वागत गरेका छन् ।


प्रतिक्रिया