ओखलढुंगामा पाँच कम्युनिष्ट घटक एकीकृत हुँदै ‘नेपाली कम्युनिष्ट पार्टी’मा समाहित भएका छन् । पार्टीको जिल्ला कार्यसमितिले शुक्रबार सदरमुकाममा आयोजना गरेको जिल्लास्तरीय एकता सन्देश सभा मार्फत नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा चिरण, जसपा र महेन्द्र राय यादव समूह गरी पाँच पार्टी एकीकृत भएको घोषणा गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा पार्टीका केन्द्रीय आयोजक समिति सदस्य सावित्री कुमार काफ्लेले सुशासन, विकास र समृद्धिको लक्ष्यसहित कम्युनिष्ट शक्तिहरू एकजुट हुन थालेको र ओखलढुंगामा पनि बलियो एकता निर्माण गर्न सबै नेतृत्व जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
सो अवसरमा कोशी प्रदेश सांसद तथा पार्टीका केन्द्रीय आयोजक समिति सदस्य बाबुराम गौतमले राष्ट्र र राष्ट्रियताको संरक्षणका लागि सबै कम्युनिष्ट शक्तिहरू एक हुन आवश्यक भएकाले नयाँ संरचनासहितको पार्टी गठन गरिएको बताए ।
जिल्लामा संगठित सबै घटक एकथाम हुँदै मजुबत बन्न तथा नयाँ जोडिन चाहने नेता–कार्यकर्तालाई स्वागत गर्न पार्टी तयार रहेको उनको भनाइ थियो ।
पार्टी नेता मेख बहादुर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई पार्टीका नेताहरू चम्पा कार्की, नेत्र प्रसाद भट्टराई, नवराज गुरुङ, लक्ष्मण पौडेल, रामहरी कार्की, लोचन केसी, निर्मला श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए ।
उनीहरूले जिल्लामा पार्टीलाई अब्बल र जनस्तरमा लोकप्रिय बनाउन संगठन विस्तार, जनसंगठन सुदृढीकरण र ग्रामीण तहसम्म सक्रियता बढाउनुपर्नेमा जोड दिए । एकता अभियानलाई आगामी दिनमा पालिका हुँदै गाउँ–टोलसम्म विस्तार गरिने जानकारी पार्टी नेता रामकुमार कार्कीले दिएका छन् ।

प्रतिक्रिया